|

काठमाडौँ : सहिद स्मारक 'ए' डिभिजन लिग फुटबलमा १० औँ चरणअन्तर्गत  शनिबार भएको खेलमा मच्छिन्द्र फुटबल क्लबले च्यासल युथ क्लबलाई २-० ले पराजित गर्‍यो तर उसको जितको खुशी भने पीडादायी रह्यो।

दोस्रो हाफमा मनीष डाँगी हेडको प्रयासमा मैदानमा लड्न पुग्दा घाइते भएपछि उनलाई एम्बुलेन्समा राखेर अस्पताल लगिएको थियो।

६५ औँ मिनेटमा मनीष डाँगी हेडको प्रयासमा च्यासलका विदेशी खेलाडी यानिक केचासँग ठोकिन पुग्दा मैदानमै लडेका थिए।

केही समय अचेत बनेका उनलाई मैदानमै प्राथमिक उपचार गरेपछि होसमा आएका थिए। त्यसलगत्तै उनलाई मैदानबाटै एम्बुलेन्समा राखेर अस्पताल लगिएको थियो।

खेलमा मच्छिन्द्र फुटबल क्लबले पहिलो हाफमा लिएको दुई गोलको अग्रता नै जितका लागि पर्याप्त बन्यो। सुरुवातबाटै दबाब बनाएको मच्छिन्द्रले च्यासलविरुद्ध १७ औँ मिनेटमै अग्रता लिन सफल भएको थियो।

रञ्जित धिमालको कर्नरलाई विमल घर्ती मगरले आकर्षक हेड गर्दै मच्छिन्द्रलाई अग्रता दिलाएका थिए।

खेलमा दबाब निरन्तर बढाएको मच्छिन्द्रले पहिलो हाफमा नै अग्रता दोब्बर बनाउने क्रममा सुनिल बलले आकर्षक गोलमार्फत ३७ औँ मिनेटमा अग्रता दोब्बर बनाएको थियो।

सुनिलले डिफेन्डरलाई कुनै मौकै नदिई गरेको आकर्षक प्रहार सीधै गोलमा परिणत भएको थियो। त्यसपछि दुबै टोलीले थप गोल गर्न नसक्दा पहिलो हाफमा मच्छिन्द्रले २-० को अग्रता बनायो।

दोस्रो हाफमा पनि दुबै टोलीले गोलका सीमित अवसर पाए पनि गोल गर्न सकेनन्।

जितपछि मच्छिन्द्रको १० खेलबाट २६ अंक भएको छ। च्यासलको भने समान खेलबाट ५ अंकका साथ पुछारमा छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.