|

काठमाडौं : प्रतिनिधिसभाको बैठक आज बस्दै छ। दिउँसो १ बजे बस्नै बैठकको सम्भावित कार्यसूचीमा एमसीसी सम्बन्धी प्रस्ताव राखिएको छैन।

संसद भवन नयाँ बानेश्वरमा बोलाइएको बैठकको सम्भावित कार्यसूचीमा थारू आयोगको प्रतिवेदन पेस गर्ने र शोक प्रस्ताव पारित गर्ने उल्लेख छ। 

कार्यव्यवस्था परामर्श समिति बैठक बस्दै 

सभामुख अग्निप्रसाद सापकोटाले प्रतिनिधिसभा कार्यव्यवस्था परामर्श समितिको बैठक बोलाएका छन्। प्रतिनिधिसभा बैठकको कार्यसूची तय गर्नका लागि कार्यव्यवस्था परामर्श समितिको बैठक बोलाइएको हो।

प्रतिनिधिसभाको बुधबारको समितिमा एमसीसी टेबुल गर्ने तयारीमा सरकार रहेको छ। बैठकको कार्यसूची तयार गर्नका लागि विहान साढे ११ बजे कार्यव्यवस्था परामर्श समितिको बैठक बोलाइएको सभामुखका प्रेस विज्ञ श्रीधर न्यौपानेले जानकारी दिए। बैठक संघीय संसद् भवनको शंकर हलमा बस्ने भएको छ।

अवरोध कायमै रहन्छ : एमाले  

प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले आज बस्ने प्रतिनिधिसभा बैठक पनि अवरोध गर्ने भएको छ। एमालेका प्रमुख सचेतक विशाल भट्टराईले आजको बैठक पनि अवरोध गर्ने जानकारी दिए। सरकारले प्रमुख प्रतिपक्षीलाई सहमतिमा ल्याउने भन्दा पनि पूर्ण रुपमा वेवास्ता गर्दै अघि बढेको एमालेको आरोप छ।

आफूले पदमुक्त गरेका १४ जना सांसदको कारबाहीको सूचना जारी नगरी सभामुख अग्निप्रसाद सापकोटाले पार्टी विभाजनमा भूमिका खेलेको भन्दै एमालेले निरन्तर संसद बैठकमा अवरोध गर्दै आएको छ।

आज एमसीसी टेबल हुन्छ : कांग्रेस

कांग्रेसले  अमेरिकी मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी)सँगको सम्झौता आज संसद्‌मा टेबल हुने बताएको छ । कांग्रेस प्रवक्ता प्रकाशशरण महतले सभामुख अग्निप्रसाद सापकोटाले एमसीसी टेबल गर्ने प्रतिबद्धता समेत दिइसकेको जानकारी दिए।

सानेपास्थित केन्द्रीय कार्यालयमा मंगलबार बसेको कार्यसम्पादन समितिको बैठकपछि निर्णय सार्वजनिक गर्ने क्रममा प्रवक्ता महतले सरकारले एमसीसी टेबल गर्न आग्रह गरिसकेको र सभामुखले प्रतिबद्धता समेत जनाएको बताए। ‘सभामुखबाट प्रतिबद्धता आइसकेको छ, भोलिको बैठकमा एमसीसी टेबल हुन्छ,’ उनले भने । तर, सम्भावित कार्यसूचीमा त समेटिएन नि? भन्ने प्रश्नमा प्रवक्ता महतले भने, ‘अहिले नभए त्यो फेरि थपिएला, तर भोलि टेबल हुन्छ।’

उनले गठबन्धन दलहरूबीचमा समेत सहमति गरेर एमसीसी पास हुने बताए।
 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.