|

काठमाडौं : सत्ता गठबन्धनका शीर्ष नेताद्वय शेरबहादुर देउवा र पुष्पकमल दाहाल प्रचण्डबीच भेटवार्ता भएको छ। 

संसदमा एमसीसी टेबल गर्ने विषयमा मतभेद भइरहेका बेला दुई नेताबीच आज बिहान भेटवार्ता भएको हो। दुवै नेताको आ–आफ्नै अडानका कारण एमसिसी हिजो संसदमा टेबल हुन सकेन।

प्रधानमन्त्री एवं कांग्रेस सभापति देउवा जसरी भए पनि एमसीसी पारित गर्ने पक्षमा छन् भने प्रचण्ड जसरी पनि रोक्न लागिपरेका छन्। आज भएको भेटमा एमसिसी निर्वाचनपछि सार्न प्रचण्डले दिएको दबाब देउवाले अस्वीकार गरेको स्रोतको दाबी छ। देउवाले भोलिको संसद् बैठकमा एमसिसी टेबल गराउने अडान नछाडेका कारण दुवै नेताबीचको छलफल बिनानिष्कर्ष टुंगिएको छ। 

दुई नेताको छलफलपछि आज अपरान्ह तीन बजे बोलाइएको गठबन्धनको बैठक दुई घण्टापछि सारिएको छ। एमसिसीसँगको सम्झौता अनुमोदनको विषयमा देखिएको गतिरोध अन्त्यका लागि सत्ता गठबन्धन दलले आज निर्णायक छलफल गर्न लागेका हुन्।

आफ्नो पार्टीको निर्णयअनुसार प्रधानमन्त्री शेरबहादुर देउवाले सम्झौता अनुमोदनको प्रक्रिया सुरु गर्न खोजे पनि सत्तारूढ माओवादी केन्द्र र एकीकृत समाजवादीको विरोधपछि सो विषयले संसदमा प्रवेश पाएको छैन।

एमसिसीसँगको सम्झौता संसदबाट अनुमोदन गराएरै छाड्ने प्रधानमन्त्री देउवाको दृढता र यथास्थितिमा अनुमोदन नगर्ने माओवादी र एकीकृत समाजवादीको अडानका बीच गठबन्धन नै टुट्ने संकेत देखिएको छ। एमसीसीका विषयमा प्रतिपक्षी एमालेको मौनताले पनि समस्या झन बल्झिएको छ।

सम्झौता अनुमोदनका लागि आफुहरु प्रतिवद्ध रहेको भन्दै नेपाली कांग्रेसका प्रवक्ता डा प्रकाशशरण महतले गठवन्धनको भविष्यबारे चिन्ता गर्ने पक्षमा नरहेको बताए।  यद्यपी आज सत्ता गठबन्धनबीच निर्णायक छलफल गरिने डा महतको भनाइ छ। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.