केही बिक्री भएको स्विकार तर बेच्नेका बारेमा प्रतिवेदन मौन

|

काठमाडौं : हराएको भनिएको कोभिडविरुद्धको खोपको भेटिनुपर्ने भन्दा झन् बढी खोप भेटिएको छ। खोप छानबिन समितिले सरकारले बुझाएको प्रतिवेदनमा भेटिनुपर्ने भन्दा झन् बढी खोप भेटिएको बताएको छ।

समितिले बुझाएको प्रतिवेदनमा हराएको मात्रा होइन बरु हुनुपर्ने खोपभन्दा ४ लाख ५५ हजार ३५५ मात्रा खोप बढी रहेको देखिएको छ।

अझ यसमा खेर गएको भनिएको ५६ हजार ९०८ मात्रा खोप समेत जोड्ने हो भने ५ लाख १२ हजार २६३ मात्रा खोप बढी भेटिएको छ।

कसरी भेटियो बढी खोप?

प्रतिवेदनमा १० मात्राको भाइलबाट ११ मात्रा दिँदा यस्तो समस्या आएको उल्लेख छ। यसले कोभिडविरुद्धको खोप लगाउँदा मात्रा नमिलाई दिने गरेको तथ्य समेत उजागर गरेको छ।

तालिमप्राप्त स्वास्थ्यकर्मीहरूले मात्रा समेत नमिलाई खोप दिइएको प्रतिवेदन सार्वजनिक हुँदा खोपको तापक्रम उचित तरिकाले मिल्यो कि मिलेन भन्ने कुरा समेत आशंका उब्जिएको छ।

यसअघि आइस बक्सबाट झिकेर दिनुपर्ने खोप कतिपय केन्द्रमा स्वास्थ्यकर्मीहरूले पहिले झिकेर सुईमा भरेर बाहिरै राखेको समेत समाचार सार्वजनिक भएको थियो। यो सन्दर्भमा भने छानबिन समितिले केही बोलेको छैन।

लक्षित वर्गभन्दा बाहिरकाले पनि खोप लगाए

यस्तै समितिले बुझाएको प्रतिवेदनमा खोप लक्षित वर्गभन्दा बाहिरका व्यक्तिले समेत लगाएकाले त्यसको विवरण अद्यावधिक हुन बाँकी रहेको औंल्याएको छ।

खोप अभियान व्यवस्थित हुन नसक्दा समस्या आएको पनि बताइएको छ। कतिपय अवस्थामा भाइलमा भएको खोपले एकजना बढीलाई पुर्‍याउँदा पनि तथ्यांकमा फरक परेको छ।

पैसा लिई खोप लगाएको, धेरै मौज्दात राख्ने, उचित भण्डारण नभएको कारणले प्रयोग गर्न नमिल्ने खोप धेरै भएका, अभियानका क्रममा लापरबाही गर्ने निकायहरूका सम्बन्धमा सत्य तथ्य छानबिन गरी कारबाही सिफारिस गर्न अधिकार सम्पन्न समिति गठन गरी जिम्मेवारी दिने राय/सुझाव दिएको छ। तर त्यसरी पैसा लिई खोप लगाउने (खोप बेच्ने) को हो भनेर भन्न सकेको छैन।

छानबिन गरी कारबाही सिफारिस गर्न अर्को समिति गठन गरेर जिम्मेवारी दिनुपर्ने राय दिएर समिति उम्किन खोजेको छ।

पैसा लिई खोप लगाएको निष्कर्ष निकाल्ने उक्त छानबिन समितिले खोप बेच्ने को हुन् भनेर स्पष्ट खुलाउन सकेको छैन।

यस सम्बन्धमा उजुरीका आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले समेत छानबिन गरी मुद्दा दायर गरेको देखिन्छ भन्ने उल्लेख छ।

जन्सन एण्ड जन्सनको खोप २० हजार लिएर लगाइदिने महोत्तरी स्वास्थ्य चौकीका हेल्थ असिस्टेन्ट अजयकुमार साहसहित दुईजनामाथि अख्तियारले दायर गरेको मुद्दाप्रति इंगित गर्दै छानबिन समितिले उक्त कुरा उल्लेख गरेको पाइन्छ।

तर योभन्दा धेरै खोप बिक्री भएको भन्दै यसअघि धेरै गुनासो आउने गरेको स्वास्थ्यकै अधिकारीहरूले बताउने गरेका थिए।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका एक उच्च अधिकारीले भने‚ ‘ खोप अभियानका वेला खोपमा अनियमिता भएकै हो। त्यस वेला खोप बिक्री भएको पनि भनिएको थियो, अहिले छानबिन समितिले त्यो खोप कहाँ कसरी विक्री गरेको थियो भनेर खुलाउनुपर्ने थियो‚ स्पष्ट खुलाउन सकेन।’

यी स्थानीय तहले नै पठाएनन् खोपको विवरण

प्रतिवेदनअनुसार त्यसरी तथ्याङ्क प्रविष्ट नगर्ने स्थानीय तहमा ताप्लेजुङ जिल्लाको सिदिङ्गवा गाउँपालिका, काठमाडौं जिल्लाका तारकेश्वर र चन्द्रागिरी नगरपालिका, काभ्रेपलाञ्चोक जिल्लाका खानीखोला, बेथानचोक र तेमाल गाउँपालिका रहेका छन्।

त्यसैगरी मकवानपुर जिल्लाका इन्द्रसरोवर, राक्सिराङ र कैलास गाउँपालिका पनि खोपको विवरण नबुझाउने सूचीमा रहेका छन्।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सचिव डा. रोशन पोखरेलले गत ४ माघमा संसद्‌को शिक्षा तथा स्वास्थ्य समितिमा कोरोना भाइरसको पछिल्लो अवस्था र खोपको प्रगतिबारे जानकारी दिने क्रममा २४ लाख खोपको तथ्यांक नभएको बताएका थिए।

उनको भनाइ विवादित बन्दै गएपछि स्वास्थ्यमन्त्री विरोध खतिवडाले १५ दिनभित्र प्रतिवेदन दिने गरी १६ माघमा पाँच सदस्यीय छानबिन समिति गठन गरेका थिए।

 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.