|

चितवन : रत्ननगर नगरपालिकाले किसानलाई गोबर मल खरिदमा ५० प्रतिशत अनुदान दिएको छ। प्रांगारिक खेतीप्रति किसानलाई जागरुक बढाउन नगरपालिकाले अनुदान दिन सुरु गरेको हो। मलमा अनुदान दिन नगरपालिकाले ५० लाख रूपैयाँ विनियोजन गरेको छ।

नगर क्षेत्रमा एक टेलर मलको तीन हजारदेखि तीन हजार ५०० रूपैयाँसम्म पर्ने गरेको छ। नगरपालिकाले एक टेलर मल खरिदमा एक हजार ५०० रूपैयाँ उपलब्ध गराउने भएको छ। एक बिघा जग्गा क्षेत्रफल हुने किसानले चार टेलरको अनुदान पाउने छन्। एक बिघा जग्गाका लागि गोबर मल खरिद गर्न किसानले ६ हजार रूपैयाँ अनुदान रकम पाउने नगरप्रमुख नारायण वनले जानकारी दिए।

नगरपालिकामा सूचीकृत भएका पशुपालन फार्मबाट किसानले गोबर मल खरिद गर्नुपर्ने छ। त्यसका लागि अहिलेसम्म १० वटा पशुपालन फार्म सूचीकृत भएका छन्। वनले रासायनिक मलको प्रयोग घटाउन गोबर मल खरिदमा अनुदान दिएको बताउनुभयो।

‘हामीले किसानलाई अनुदानमा गाई दिएका छौँ,’ नगरप्रमुख वनले भने‚ ‘पशुपालनलाई कृषिसँग जोडेर उत्पादन बढाउने हाम्रो लक्ष्य हो।’

अन्नबालीमा रासायनिक मलको प्रयोगका कारण प्राणघातक रोगको शिकार हुनु परेको भन्दै अर्ग्यानिक उत्पादन गरेर स्वास्थ्य सुरक्षा गर्ने अर्को उद्देश्य रहेको उनको भनाइ छ।

नगर उपप्रमुख विमला दुवाडीले बाली लगाउने बेला हुने मलको हाहाकारबाट किसानलाई मुक्ति दिलाउन गोबर मलमा अनुदान दिएको जानकारी दिइन्। उनले भनिन्, ‘एकातिर गोबर नबिक्ने, अर्कातर्फ खेती गर्ने किसानले मल नपाउने समस्या छ, यसले समस्या समाधान हुन्छ।’

नगरपालिकाले कृषि क्षेत्रका विविध शीर्षकमा अनुदान दिँदै आएको छ। यसअघि गाई खरिद, दूध, मेसेरेनरी, सिँचाइलगायतमा अनुदान दिँदै आएको छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.