|

कास्की : पर्यटकीय नगरी पोखरामा गत आइतवार परेको भीषण असिनापानीले ११ करोड रुपैयाँ बराबरको क्षति भएको पोखरा महानगरपालिका कृषि तथा पशु विकास महाशाखाले जनाएको छ। बाक्लो असिना पानीका कारण केही जनावर मरेका छन् भने तरकारी तथा फलफूलसहित बालीनाली नष्ट भएका छन्।

महाशाखाका प्रमुख मनोहर कडारियाले पोखरा वडा नम्बर ९, ११, १३ र १८ मा धेरै क्षति भएको र अन्य वडामा सामान्य क्षति भएको जानकारी दिए। राज्यले कृषकलाई दिएको बिमा सुविधा समेत किसानले सदुपयोग गरेमा यसप्रकारका क्षतिबाट राहत पुग्नसक्ने उनले बताए।

असिनाका कारण ती वडाहरूमा तरकारी बाली, नगदे बाली, फलफूल, तोरी, आलुलगायतका बालीमा पूर्ण क्षति पुगेको छ। असिनापानी परेको दोस्रो दिनसम्म पनि असिना नपग्लिएको महाशाखाका प्रमुख कडारियाले बताए।

असिनाकै कारण पोखरा महानगरपालिका वडा नम्बर ११ मा फलमान गुरुङले सञ्चालन गर्दै आएका उदय अर्गानिक कृषि फार्मका दुईवटा भैँसी मरेका छन्। फार्ममा टिनमा असिनाको भार पर्दा भाँचिएर थिचेको कारण भैँसी मरेका हुन्। त्यस्तै‚ तरकारीका टनेलहरु भत्किएका छन्। गुरुङका अनुसार फर्ममा २० लाख बराबरको क्षति भएको  छ।

उता, पोखरा वडा ११ मा केहरमान गुरुङले सञ्चालन गर्दै आएको गोर्खाली मनकामना नर्सरीमा पनि ठूलो क्षति पुगेको छ। उनले चार रोपनी क्षेत्रफलमा लगाएको विभिन्न जातका फूलहरु टनेलसहित भाँचिदा पूर्ण रुपमा क्षति भई २० लाख रुपैयाँ बराबरको क्षति पुगेको बताए। असिनाको भारका कारण टनेल भाँचिएको उनको भनाइ छ।

यसैगरी पोखरा ११ को किसान मोतीराम भट्टराईको पनि तराकारी खेतीमा ठूलो क्षति भएको छ। उनले सरकारले राहत दिएर भए पनि किसानहरुलाई सहयोग गरिदिन आग्रह गरे। पोखरा-११ का वडा अध्यक्ष मोहनप्रसाद बास्तोलाले पोखरा क्षेत्रमा परेको असिनापानीको मुख्य केन्द्र पोखरा ११ भएकाले आफ्नो वडामा धेरै क्षति पुगेको बताए। उनले कृषकको राहतमा आफूले पहल गरेकोसमेत बताए।

पोखरा महानगरका कुल ३३ वडामध्ये २ हजार १८१ हेक्टर क्षेत्रफलमा तरकारी खेती हुने गरेको छ। फलफूल ३२० हेक्टर क्षेत्रफलमा, आलु १ हजार २५३ हेक्टर क्षेत्रफलमा उत्पादन हुने गरेको छ।

पोखरामा गत फागुन ८ गते आइतवार दिउँसो भीषण असिनापानी परेको थियो। असिनापानीले पोखराको सडक केही समय अवरुद्ध भएको थियो। पोखराको न्यूरोड, चिप्लेढुंगा, फूलबारी, बगर, अमंरसिंह चोक, रानीपौवा भागमा असिनाले सडक नै छोपिएको थियो। सडकमा परेको असिना हटाउन डोजरको समेत प्रयोग गरिएको थियो।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.