|

काठमाडौं : आयोजक टोली ललितपुर मेयर्स–११ माथि ५८ रनको फराकिलो जित निकाल्दै सुदूरपश्चिम प्रदेशले मंगलबार शुरु भएको ललितपुर मेयर महिला टी–२० क्रिकेट प्रतियोगितामा विजयी शुरुआत गरेको छ। कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको मैदानमा मंगलबार भएको उद्घाटन खेलमा ललितपुर मेयर्स–११ लाई हराउँदै सुदूरपश्चिमले विजयी शुरुआत गरेको हो।

१ सय ४४ रनको लक्ष्य पछ्याएको मेयर्स–११ ले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर ८५ रन मात्र जोड्न सक्यो। मेयर्स–११ का लागि सरस्वती चौधरीले सर्वाधिक २६ रन जोड्दा साना प्रविनले १५, कञ्चन श्रेष्ठले १० रनको योगदान गरे पनि अन्य खेलाडीले दोहोरो अंकको स्कोर गर्न सकेनन्।

किफायती बलिङ गरेको सुदूरपश्चिमका लागि लक्ष्मी साउदले सर्वाधिक ३ विकेट लिँदा कविता कुँवरले २ विकेट लिइन्। ४ ओभर बलिङ गरेकी कविताले एक मेडन ओभर फाल्दै मात्र ५ रन खर्चिएकी थिइन्। इश्वरी विष्ट र सम्झना खड्काले १/१ विकेट आफ्नो नाममा लेखाए।

यसअघि टस जितेर पहिले ब्याटिङ गरेको सुदूरपश्चिमले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै १ सय ४३ रन जोडेको थियो। सुदूरपश्चिमका लागि कप्तान रितु कनौजियाले सर्वाधिक ४२ रनको योगदान गरिन्। उनले २९ बल खेल्दा ६ चौका प्रहार गरेकी थिइन्।

रेवती ढकालले २९, विन्दु रावलले २८ तथा डोली भट्टले २५ रन जोडे। सुदूरपश्चिमको ५ विकेट लिने क्रममा मेयर्स–११ की खुशी डंगोलले सर्वाधिक २ विकेट लिँदा अनुराधा चौधरी, आरती विडारी र अस्मीना कर्मचार्यले १/१ विकेट लिए।

प्रतियोगिताअन्तर्गत मंगलबार नै भएको अर्को खेलमा विभागीय टोली एपिएफ क्लबले राष्ट्रिय टोलीकी कप्तान रुबिना क्षेत्र रहेको टोली प्रदेश १ लाई ६ विकेटले पराजित गर्दै विजयी शुरुआत गरेको छ। प्रदेश १ ले दिएको ५८ रनको झिनो लक्ष्य एपिएफले ११ दशमलव ४ ओभरमा ४ विकेट गुमाउँदै पूरा गर्‍यो।

एपिएफको जितमा ज्योती पाण्डेले सर्वाधिक २३ रन जोड्दा रोमा थापा १५ तथा ममता चौधरी २ रनमा अविजित रहे। राजमती ऐरी ४ तथा कप्तान सीता राना मगर १ रनमा पवेलियन फर्किएका थिए। बलिङतर्फ प्रदेश १ का लागि सवनम राईले २ तथा हेरमायी रोय र कप्तान रुबिना क्षेत्रीले १/१ विकेट लिए।  

यसअघि टस जितेर पहिले ब्याटिङ गरेको प्रदेश १ ले निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै ५७ रन मात्र बनाएको थियो। प्रदेश १ का लागि सवनम राईले सर्वाधिक १६ रनको पारी खेल्दा अन्यले सम्झनलायक प्रदर्शन गर्न सकेनन्।

प्रदेश १ लाई सस्तैमा समेट्ने क्रममा एपिएफकी करुणा भण्डारीले ३ विकेट हात पारिन्। ४ ओभर बलिङ गर्दा करुणाले ३ मेडन ओभर राख्दै मात्र ५ रन खर्चिएकी थिइन्। राजमती ऐरीले २ विकेट लिँदा रेखा रावल र सुमन विष्टले १/१ विकेट आफ्नो नाममा लेखाए।

प्रतियोगितामा बुधबार पनि २ खेल हुनेछन्। दिनको पहिलो खेल एपिएफ र सुदूरपश्चिम प्रदेश तथा दोस्रो खेल आयोजकको टोली ललितपुर मेयर्स–११ र लुम्बिनी प्रदेशबीच खेल हुनेछ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.