|

काठमाडौं : वरिष्ठ लोक गायक तथा कलाकार जयनन्द लामाको निधन भएको छ। उनको भक्तपुरस्थित कौशलटारमा मंगलवार राति निधन भएको हो।

राति एक भोजमा सहभागी भएर घर फर्किएका लामा गाडीबाट झर्ने बेला लडेका थिए। कलाकार मरिचमान श्रेष्ठ ‘बल्छी ध्रुवे’का अनुसार गेटमा लडेर खुट्टा भित्र र टाउको बाहिर भई लडिरहेको अवस्थामा बिहान दुध ल्याउने मान्छेले देखेका थिए। त्यसपछि दुध ल्याउने मान्छेले घरका सदस्यलाई खबर गरेका थिए। 

लामालाई श्रद्धाञ्जलिका लागि आज दिउँसो कमलादीस्थित प्रज्ञा प्रतिष्ठानमा राखी आजै अन्त्येष्टि गरिने कलाकार श्रेष्ठले जानकारी दिए।

सिन्धुपाल्चोकको बाह्रविसे नगरपालिका-२ धार्पाका लामा दर्जनौं लोकप्रिय लोकगीत संकलन तथा गाएका छन्। टेकबहादुर लामा तथा साइली लामाका सन्तानका रुपमा जयनन्द लामाको २०१३ वैशाख २ मा जन्म भएको थियो  सिन्धुपाल्चोक जिल्लाबाट काठमाडौं आई उनले २०२७ सालदेखि रेडियो नेपालमा लोकगीत गाउन थालेका हुन् ।

उनलाई बाह्रबिसे बजार पुग्दा संस्कृतिविद भैरवबहादुर थापाले एउटा प्रतिभाशाली बालक देखेपछि उपत्यका भित्र्याएका थिए । जतिबेला भैरब नृत्य दल जस्तो चर्चित तथा स्थापित नृत्यदल देश विदेश जान थालिसकेको थियो । काठमाडौं उपत्यकाको संघर्षले उनलाई लोकगीत गायनका साथै अभिनय, नृत्य, नेपाली चलचित्र निर्देशक तथा निर्माता, संगीत सम्बन्धी लेखक, शिक्षक अनि व्यङ्ग्यकारको भूमिका नगरी नहुने तुल्याएको थियो ।

उनले गाएका चर्चित लोकगीत कलकत्ते काइँयो, सलल पानी यही बस्यो बानी, नाउ त मेरो अक्कले, मूलाको चाना उही चाना, केको साँचो ठल्ली रेसम, माया लाउने तिम्ले र हाम्ले, हेर्दामा राम्रो क्या राम्र्रो, हेलम्बु डाँडापारि आदि हुन् । सङ्गीत सिद्धान्त र पिङ्गुल सङ्गीत दुईटा कृति पनि प्रकाशित छन् ।

२०४३–४४ सालसम्म रेडियो नेपालको लोकगीत प्रबन्धक बनेका लामाले नेपाल राजकीय प्रज्ञा प्रतिष्ठानमा लामै समय सेवा पुर्‍याएका थिए । उनको औपचारिक नाम जयनन्दलाल लामा हो । उनले दर्जनौं नेपाली चलचित्रमा अभिनय पनि गरेका छन्। ६५ वर्षीय स्वर्गीय लामाका दुई छोरा र श्रीमती छन्।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.