|

संखुवासभा : संखुवासभाको भोटखोला गाउँपालिका–१ किमाथांकाबाट गर्भवती महिलाको उद्धार गरिएको छ।

अत्यधिक रक्तस्राव भएकी भोटखोला–१ किमाथांका निवासी गर्भवती पेम्बा ल्हामु च्यावाको नेपाली सेनाको हेलिकप्टरमार्फत उद्धार गरिएको जिल्ला प्रहरी कार्यालय संखुवासभाका प्रमुख डिएसपी लालध्वज सुवेदीले जानकारी दिए।

गर्भवती १७ वर्षीया च्यावाको राष्ट्रपति महिला उत्थान कार्यक्रमअन्तर्गत महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयअन्तर्गत उद्धार गरिएको हो।

गर्भवती च्यावालाई अत्यधिक रक्तस्राव भएपछि बुधबार दिउँसो किमाथांका स्वास्थ्यचौकीमा ल्याइएको थियो। अत्यधिक रक्तस्राव भएपछि च्यावालाई थप उपचारका लागि हेलिकप्टरमार्फत काठमाडौं लगिएको भोटखोला गाउँपालिकाकी स्वास्थ्य सहसंयोजक स्टाफ नर्स अमृता तामाङले बताइन्।

गर्भवती च्यावाको रक्तस्राव नरोकिएपछि बुधबार दिउँसो ४ बजे थप उपचारका लागि हेलिकप्टरमार्फत काठमाडौंको थापाथली प्रसूतिगृहमा लगिएको हो। दुर्गम क्षेत्रका ज्यान जोखिममा परेका गर्भवती तथा सुत्केरीलाई निःशुल्क हवाई उद्धार गरी तोकिएका अस्पताल पुर्‍याउने व्यवस्था मिलाउने गरेको छ।

सरकारले दुर्गम भेगमा जोखिममा परेका गर्भवती, लगातार लामो व्यथा लागी बच्चा जन्माउन कठिनाइ भएका, गर्भमै बच्चाको मुत्यु भएमा र सुत्केरी भएपछि अत्यधिक रक्तस्राव भएको अवस्थामा निःशुल्क उद्धार गर्दै आएको छ।

राष्ट्रपति महिला उत्थान कार्यक्रमअन्तर्गत संखुवासभामा हालसम्म आधा दर्जनभन्दा बढी सुत्केरी तथा गर्भवतीको उद्धार गरिएको छ। जिल्लामा हालसम्म ४ जना सुत्केरीले ज्यान गुमाइसकेका छन्। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.