‘सार्वजनिक सम्पत्ति संरक्षण गर्नु सबैको दायित्व’

|

काठमाडौं : नयाँ बानेश्वर क्षेत्रमा गत फागुन ४ गतेदेखि विरोध प्रदर्शनले छाडेको छैन। अमेरिकी सहयोग परियोजना (एमसिसी) सम्झौताविरुद्ध विभिन्न राजनीतिक दलका कार्यकर्ताहरूले निरन्तर विरोध प्रदर्शन गर्दै आएका छन्। तर,विरोध मात्र नभई आन्दोलनकारीले सार्वजनिक सम्पत्तिमाथि समेत क्षति पुर्‍याएका छन्।

गत आइतबार आन्दोलनकारी र प्रहरीबीच झडप भयो। आन्दोलनकारीले सडक पेटीमा हालिएका ब्लक फुटाएर प्रहरीलाई प्रहार गरे। ती ब्लक निकाल्दै फुटाएको भिडियो अहिले सामाजिक सञ्जालमा भाइरल छ। त्यति मात्र होइन हुर्केर हरियाली भएका बोटबिरुवासमेत भाँचेका छन् आन्दोलनकारीहरूले।

बिहीबार पनि एससिसी सम्झौताविरुद्ध विभिन्न राजनीति पार्टीका कार्यकर्ता विरोधमा उत्रिए। त्यसबेला पनि बोटविरुवा भाँचेर प्रहरीलाई हानेका थिए। कोही त्यही बोटमा चडेर प्रदर्शन हेरिरहे। 

आन्दोलनमा ढुङ्गा प्रहार गर्न सडक भत्काउँदै

अहिले त्यहाँ गएर हेर्ने हो भने केही विरुवाको टुप्पो छैन भने कुनै विरुवा उखेलिएको छ। केहीको हाँगा लाछिएका छन्। आज शुक्रबार पनि एमसिसीविरुद्ध विरोध प्रदर्शन भएको छ, यद्यपि, संसद् बैठक स्थगितको समाचार बाहिरिएपछि भने प्रदर्शन क्रमश: मत्थर भएको थियो।  

सार्वजनिक सम्पत्तिमाथि क्षति पुर्‍याउनु राज्यलाई भार

सडक विभागका प्रवक्ता शिवप्रसाद नेपाल प्रदर्शनकारीले गरेको व्यवहारले दु:खी भएको  बताउँछन्। उनी भन्छन्,‘आन्दोलन गर्नु बेग्लै कुरा हो,तर त्यही बेला रिसको झोंकमा ब्लक,बोटविरुवा नष्ट गर्नु राम्रो होइन,यो सबैको सार्वजनिक सम्पत्ति हो।’

यी बिगारिएको भौतिक संरचना निर्माण गर्दा राज्यलाई नै आर्थिक भार पर्ने उनले बताए। ‘अब फेरि त्यो सडक बनाउन खर्च लाग्छ,कहिले समयमा बनाउन सकिँदैन,त्यसैले सार्वजनिक सम्पत्ति सबैले लेखाजोखा गर्नुपर्छ,’उनले भने।

काठमाडौं महानगरपालिकाका वातावरण विभागकी प्रमुख सरिता राई पनि आन्दोलनकारीको रिस निर्दोष बोटविरुवामा पोख्नु गलत रहेको बताउँछिन्।

‘हरियाली प्रवर्द्धनका लागि बल्लबल्ल मलजल गरेर बोट विरुवा हुर्काएको थियो,’उनले भनिन्,‘पालुवा पलाउने भएकाले काँटछाँट पनि गरेका थियौँ,तर सबै आन्दोलनकारीहरूको भाँचिदिए,अब त्यति हुर्काउन समय लाग्छ,राज्यकै खर्च हुन्छ।’

शान्तिपूर्ण आन्दोलन गर्न उनी माग गर्छिन्। ‘आन्दोलन गर्ने भएपनि यसरी बोटविरुवा,ब्लक निकाल्ने नगर्नुहोला,सार्वजनिक सम्पत्ति संरक्षण गर्ने हामी सबैको दायित्व हो,’उनी आन्दोलनकारीसँग आग्रह गर्छिन्।

कानुन छ, कार्यान्वयन हुँदैन 

मुलुकी अपराध संहिता २०७४ (२०७६ साल जेठ मसान्तसम्मको संशोधित)मा सडक,बाटो,पुललगायत सार्वजनिक भौतिक संरचनाको कसैले अनधिकृत कब्जा,हानि, नोक्सानी गर्न नहुने व्यवस्था छ।

त्यस्तो कसुर गर्ने वा गराउने व्यक्तिलाई दश वर्षसम्म कैद र एक लाखसम्म जरिवाना हुने व्यवस्था छ।

व्यापारीलाई घाटा, स्थानीय त्रसित

दिनहुँ बानेश्वर क्षेत्रमा आन्दोलन प्रदर्शन भइरहँदा त्यहाँका व्यापारी घाटामा गएका छन् भने स्थानीय त्रसित छन्। बानेश्वर चोकको एक फलफूल व्यापारीले आन्दोलनका कारण दिनभरि नै पसल बन्द गर्नु परेको बताए।

                                                                     आन्दोलनकारीले सडकको ब्लक निकालेपछि खाली देखिएको ठाउँ 

उनले भने,‘बिहान एकछिन खोल्न पाइन्छ,त्यसपछि त दिनभरि बन्द गर्नुपर्छ,आज नि बन्द गर्ने बेला भइसक्यो।’ उनले आन्दोलनकै कारण दैनिक २० हजार घाटा भइरहेको गुनासो पोखे। उनले भने,‘यसरी हामीलाई दु:ख दिनुभएन नि,हाम्रो अब यो क्षतिपूर्ति कसले दिन्छ?,शान्त भएर विरोध गरे हुने नि।’

विरोध सुरु भइसकेपछि त्यस क्षेत्रमा सवारीसाधन आवागमनसमेत ठप्प गरिन्छ। जसकारण पैदल यात्रु मारमा परेका छन्। बानेश्वरमा भेटिएका कोटेश्वरकी शिल्पा थापाले भनिन्,‘सत्तामा बस्ने नेताहरू आफैँ मिल्छन्,जनता भने सडकमा मारामार गर्छन्,दुःख पनि आफैँ भोग्न बाध्य हुन्छौँ।’ 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.