हत्यामा संलग्नलाई कडा सजाय दिन संसदमा माग

|
पत्रकार सम्मेलनमा मोरङ प्रहरी (बायाँ) र पक्राउ परेका दीपक गिरी (दाँयाँ)। तस्वीर : सुजता लिम्बू

विराटनगर : बालिका हत्या आरोपमा पक्राउ परेका ६३ वर्षीय दिपक गिरीलाई जिल्ला प्रहरी कार्यालय मोरङले सार्वजनिक गरेको छ। मोरङको लेटाङ–८ की १२ वर्षीया करुणा राईको बलात्कारपछि हत्या गरेको आरोपमा पक्राउ परेका गिरीलाई आज (आइतबार) मोरङ प्रहरीले पत्रकार सम्मेलन गरी सार्वजनिक गरेको हो।

बुधबार हराएकी करुणाको शव शुक्रबार बिहान लेटाङ–८ लालहीरा सामुदायिक वनमा केराको झ्याङभित्र फेला परेको थियो। उनको शव निर्वस्त्र फेला परेको थियो। बालिकाले लगाएको बेल्ट र कडीको पहिचानपछि हत्यामा संलग्न अपराधी पत्ता लगाएको मोरङ प्रहरी प्रमुख एसपी जनार्दन जिसीले बताए।

बालिका घर फर्कने बाटोमा जङ्गलछेउ खोल्सीमा स्कुलको लोगो रहेको बेल्टको बक्कल र कडी, जुत्ताको सोलको भाग, ज्याकेटको बटम, फ्रकका खिपहरू खरानीको थुप्रोमा डढेको अवस्थामा फेला परेको बताउँदै उनले भने, ‘नजिकै लाइटरसमेत फेला परेको थियो, सोही आधारमा शंका लागेर गिरीलाई सोधपुछ गर्ने क्रममा बयान दिएको र बालिकाको शव फेला परेको हो।’

बालिकाको घरदेखि ३ किलोमिटर दक्षिण लेटाङ नगरपालिका–८ लालहिरा सामुदायिक वनमा शव ढुङ्गाले छोपेको अवस्थामा फेला परेको जिसीले बताए। ‘बाटोमा एक्लै देखेर बालिकालाई पछ्याउँदै गएर बीच जङ्गलमा पुगेपछि बालिकालाई फकाइफुल्याइ गरी जङ्गलभित्रको बाटोबाट जाँदा छोटो पर्छ यताबाट जाऊँ भनेपछि बालिकासमेत पछि लागिन्,’  उनले भने।

केही पर पुगेपछि गिरीले बालिकालाई शारीरिक सम्पर्कका लागि प्रस्ताव गर्दा अस्वीकार गरे पनि बालिकालाई जबर्जस्ती करणी गरेको पाइएको प्रहरीको भनाइ छ। जबर्जस्ती करणीपछि सो कुरा बुबालाई भन्दिन्छु भन्दै बालिका भाग्न खोजेको बताउँदै एसपी जिसीले भने, ‘पोल खोल्न सक्ने डरले बालिकालाई जमिनमा लडाएर घाँटी थिच्दै मुख थुनेर हत्या गरेर सोही स्थाननजिकै रहेको खोल्सीमा शवलाई घोप्टो पारी ढुंगाले छोपेको पाइयो।’

उनको अनुसार गिरीले शव छोपेपछि बालिकाको सबै लुगा कपडा र जुत्तासमेत आफैँले बोकेर ल्याइ आफ्नै घरपछाडि रहेको खोल्सीमा जलाएर घर फर्केका थिए। गिरीलाई कर्तव्य ज्यान र जबरजस्ती करणी मुद्दामा आजै मोरङ अदालतमा म्याद थप गरिसकिएको एसपी जिसीले जानकारी दिए। गिरीलाई मुलुकी अपराध संहिता २०७४ को परिच्छेद ५ को दफा ४१ बमोजिम जन्म कैद हुनसक्ने जिसीले बताए।

कडा सजाय दिन प्रदेशसभामा माग

बालिका तथा किशोरी बलात्कारका घटना बढेको भन्दै रोक्नका लागि बलात्कारीलाई मृत्युदण्डको सजाय दिनुपर्ने कानुनी व्यवस्थाको माग गर्दै संसदमा आवाज उठेको छ। प्रदेशसभाको आइतबारको बैठकमा शून्य समयमा बोल्ने क्रममा प्रदेशसभा सदस्य सरिता थापाले बलात्कारीले बाँच्नुपर्ने अधिकार पाउने मानव अधिकार प्राप्त गर्ने कानुन संशोधन गरी बलात्कारीलाई मृत्युदण्डको सजाय हुनुपर्ने माग राखेकी छिन्।

‘बलात्कारपछि एउटी बालिकाले मृत्यु बेहोर्नु पर्छ, अपराधीले बाँच्न पाउने अधिकार मानव अधिकारबाट प्राप्त गर्छ,’ उनले भनिन्, ‘अपराधीले बाँच्न पाउने यस्तो अधिकार दिने कानुन संशोधन गर्न म प्रदेश सरकारमार्फत संघीय सरकारसँग जोडदार माग गर्दछु।’

यस्तै प्रदेशसभा सदस्य यसोदा अधिारीले बलात्कारजस्तो जघन्य अपराधमा संलग्न अपराधीले उन्मुक्ति पाउन नहुनेमा जोड दिइन्। उनले लेटाङकी १२ वर्षिय बालिकाको बलात्कारपछि हत्यामा संलग्न अपराधीलाई कडाभन्दा कडा सजाय दिनुपर्ने माग राख्दै उनले भनिन्, ‘बालबालिकाको जीवन रक्षा कसरी गर्ने हो यो विषयमा सभामुखमार्फत यो सरकारको ध्यानाकर्षण गराउँछु।’

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.