|

जनकपुरधाम : धनुषामा बाल विवाह बढ्दै गएको छ। धनुषा प्रहरीले ४५ दिनमा ९ वटा बालविवाह रोकेको छ। बालविवाह रोक्न प्रहरीले जिल्लामा अभियान नै चलाएको छ।

धनुषाको क्षिरेश्वरनाथ नगरपालिका-१० स्थित लक्की ठाकुरको घरमा जन्तीलाई आइतबार साँझ भव्य स्वागत गर्ने तयारी हुँदै थियो। घरमा कोही टेण्ट सजाउँदै थिए भने कोही पाहुनाको स्वागतमा जुटेका थिए। त्यहाँ एक्कासी प्रहरी टोली पुगेपछि उत्साहको माहोलमा सन्नाटा छायो।

बेहुला–बेहुलीको विवाह गर्ने उमेर नपुगेको भन्दै जिल्ला प्रहरी कार्यालय र इलाका प्रहरी कार्यालय महेन्द्रनगरको टोली पुगेको थियो। प्रहरीले विवाह रोकेपछि सबै आ–आफ्ना घरतर्फ लागे। ठाकुरकी १७ वर्षीया छोरी मनिषाको उमेर नपुग्दै विवाह भइरहेको सूचनाका आधारमा त्यहाँ पुगेर विवाह रोक्न लगाएको धनुषाका प्रहरी नायव उपरीक्षक जितेन्द्रकुमार बस्नेतले जानकारी दिए।

अभिभावकमा बालविवाह कानुनी अपराध हो, बालविवाह गराए कानुनी दण्ड र सजाय भोग्नुपर्छ भन्ने ज्ञानसमेत नभएको बस्नेत बताउँछन्। 'दाइजोको लोभ, राम्रो केटा र घर पाएको भन्दै बालविवाह गराउनेको सङ्ख्या बढ्दै गएको छ,' उनले भने। 

त्यस्तै, उमेर नै नपुगेको भन्दै प्रहरीले गत शुक्रबार जनकपुरधाम उपमहानगरपालिका-१४ की १७ वर्षीया रिन्कु दासको पनि विवाह रोकेको थियो। 'उमेर नपुग्दै विवाह गर्न लागेको पाएपछि अभिभावक, न्यायिक समिति, नागरिक समाज, महिला समूह लगायतलाई विवाह रोक्न लगायौँ,' बस्नेतले जानकारी दिए।

त्यही दिन तामझामका साथ विवाहको तयारी भइरहेको विदेह नगरपालिका-६ मा १४ वर्षीया चाँदनी मण्डलको पनि प्रहरीले विवाह रोक्न लगाएको थियो। दलित अगुवा सिजेन्द्र सदाले उमेर पुगेपछि छोरीलाई चाहेजस्तो केटा नभेटिने तथा पाइहाले पनि धेरै दाइजो दिनुपर्ने त्रासका कारण सानै उमेरमा विवाह गर्ने प्रवृत्ति बढ्दै गएको बताए। उनले भने, 'हामीले पछिल्लो समय गाउँ-गाउँमा सचेतना अभियान चलाउँदै आएका छौँ।'

प्रहरी उपरीक्षक बसन्त रजौरेले समुदाय–प्रहरी साझेदारी कार्यक्रमअन्तर्गत गाउँ-गाउँमा बालविवाहबारे अन्तरक्रिया गर्दै आएको बताए। 'विगतको भन्दा बालविवाहका घटनामा कमी आएको छ,' उनले भने।

मुलुकी अपराध संहिता, २०७४ को परिच्छेद ११ को दफा १७३ को उपदफा १, २ र ३ मा बालविवाह गर्नु गराउनु हुँदैन, गराएमा त्यस्तो विवाह स्वतः बदर हुने र बालविवाहको कसुर गर्ने गराउने व्यक्तिलाई ३ वर्षसम्म कैद र ३० हजारसम्म जरिवाना हुनसक्ने व्यवस्था रहेका छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.