|

झापा : सातदोबाटो युथ क्लब पाँचौँ संस्करणको झापा गोल्डकपको सेमिफाइनलमा प्रवेश गरेको छ। बिर्तामोड नगरपालिका–३ स्थित डोमालाल राजवंशी रंगशालामा सोमबार भएको पहिलो क्वार्टरफाइनल खेलमा विभागीय टोली सशस्त्र प्रहरीको एपीएफलाई २–१ गोल अन्तरले हराउँदै सातदोबाटो सेमिफाइनलमा प्रवेश गरेको हो। यसअघि सातदोबाटोले जावलाखेल युथ क्लबलाई पराजित गर्दै क्वार्टरफाइनलमा प्रवेश गरेको थियो।

सातदोबाटोका सुशील राईले खेलको ८२ औँ मिनेटमा गोल गरेलगत्तै ८५औँ मिनेटमा नीरज चौधरीले सातदोबाटोको अग्रतालाई दोब्बर बनाए। तर, गोलपछि सम्हालिन नसक्दा एपीएफले गोल फर्कायो। एपिएफका लागि खेलको इन्ज्युरी समयमा दीपेश धिमालले सान्त्वना गोल फर्काए। खेलको पहिलो हाफ बराबरीमा टुंगिएको थियो।

खेलको छैटौँ मिनेटमा एपिएफका युवराज खड्काले डि-बक्सभित्र पाएको बल प्रहार गर्न सकेनन्। १३ औँ मिनेटमा सातदोबाटोका प्रशान्त अवस्थीको कर्नर प्रहारमा आकाश बुढा मगरले गरेको क्रस एपिएफका गोलरक्षक युया कुरियामाले बचाउ गरे। २१ औँ मिनेटमा एपिएफका अर्मोड बेडमले डि-बक्सभित्रबाट गरेको प्रहार सातदोबाटोका मार्टिन सिलोले बचाउ गरे।

४६ औँ मिनेटमा सातदोबाटोका सुशील राईले गरेको प्रहार विपक्षी गोलरक्षकले सहजै समाते। ५५ औँ मिनेटमा एपिएफका अर्मोड बेडमको क्रस कप्तान नवीन लामाले मिस गरे। ७४ औँ मिनेटमा एपिएफका युवराज खड्काको हेडर पोस्ट नजिकैबाट बाहिरियो।

सातदोबाटोको जीतका लागि पहिलो गोल गर्ने सुशील राई खेलको म्यान अफ द म्याच भए। उनले नगद ९ हजार ९ सय ९९ रूपैयाँ प्राप्त गरे।

मंगलबारको अर्को क्वार्टरफाइनल संकटा क्लब र थ्री स्टार क्लबबीच हुने आयोजक समितिका महासचिव गजेन्द्रबहादुर पौडेलले बताए। संकटाले नेपाल पुलिस क्लबलाई पराजित गर्दै क्वार्टर फाइनलमा प्रवेश गरेको हो भने थ्री स्टार सोझै क्वार्टर फाइनलमा प्रवेश गरेको हो।

झापा गोल्डकपको विजेता टिमले नगद १२ लाख ५५ हजार र उपविजेताले नगद ६ लाख ५ हजार रूपैयाँ पाउनेछन्। त्यस्तै, मोस्ट भ्यालुएबल प्लेयरलाई एउटा मोटरसाइकल प्रदान गरिनेछ।

महिलालाई प्रवेश निःशुल्क

बिर्तामोडको डोमालाल राजवंशी रंगशालामा जारी पाँचौं झापा गोल्डकपमा मंगलबार महिलाका लागि विशेष छुटको व्यवस्था गरिएको छ। मूल आयोजक समितिका अनुसार ११२ औं अन्तरराष्ट्रिय श्रमिक महिला दिवसको अवसरमा महिलालाई निःशुल्क प्रवेशको व्यवस्था मिलाइएको हो। महिलाले मंगलबारको खेल हेर्न कुनै शुल्क तिर्नु नपर्ने आयोजक समितिका अध्यक्ष विनोद बस्नेतले जानकारी दिए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.