|
सांकेतिक फोटो

काठमाडौं : कीर्ते कागजपत्र बनाइ सस्तो जग्गा धितो राखेर बैंकबाट ऋण लिएर ठगी गरेको अभियोगमा सात जना पक्राउ परेका छन्। 

काभ्रेको बनेपामा प्रधान कार्यालय रहेको तत्कालीन पशुपति विकास बैंक (हाल सिभिल बैंकमा गाभिएको) का महाप्रबन्धक विनोदकुमार कार्कीकै मिलेमतोमा ठगी भएको अभियोगमा केन्द्रीय अनुसन्धान ब्युरो सिआइबीले बैंकका अधिकारीसहित ७ जनालाई पक्राउ गरेको हो। 

प्रहरीले बैंकका महाप्रबन्धक विनोदकुमार कार्की र कर्जा विभाग प्रमुख प्रतीक भँडेल, लेखा परीक्षक सुरेस सिलवाल, जग्गा मुल्याङ्कनकर्ता राजेन्द्र पाख्रिनलाई पक्राउ गरेको छ। त्यस्तै नुवाकोट चौघडाका रामप्रसाद उप्रेती, रामकृष्ण राई र मधुसुदन खत्रीलाई पनि पक्राउ गरेको छ। कागजपत्र आधिकारिक हो कि होइन जाँच नगरी ऋण दिएका कारण मिलेमतो हुनसक्ने प्रहरी उपरीक्षक दिवेश लोहनीले बताए। 

रामप्रसाद उप्रेतीको समूहले ओमशान्ति इन्टरनेसनल विजनेस प्रालिको नाममा भक्तपुर सिपाडोलको एक रोपनी जग्गा धितो राखी २० लाख ५० हजार रुपैयाँ ऋण लिएका थिए। त्यस ऋणको सावा ब्याज समेत गरी ४५ लाख ४५ हजार रुपैयाँ नबुझाएपछि सिभिल बैंकको उजुरीमा उनीहरुलाई पक्राउ गरेर अनुसन्धान शुरु गरेको सिआइबीका प्रहरी उपरीक्षक लोहनीले जानकारी दिए। 

कसरी भयो ठगी

ओमशान्ति इन्टरनेसनल बिजनेस प्रालिका सञ्चालक रामप्रसाद उप्रेतीले भक्तपुरको सिपाडोलमा रहेको एक रोपनी जग्गा ५० हजारमा किने। उनले बैंकमा धितो राख्ने उद्देश्यले नै २०६४ माघमा अरनिको राजमार्गबाट १० किलोमिटर दक्षिणतर्फको आशापुरी वनसँग जोडिएको जग्गा ५० हजार रुपैयाँमा किने। 

उनले किनेको जग्गा केही समयमा नै प्रालिका अर्का सञ्चालक रामकृष्ण राईलाई ४० हजार रुपैयाँ बेचे। किनबेचको क्रम देखाएपछि उनीहरुले बैंकमा कर्जा लिनको लागि पर्याप्त थैली भएको रजिष्ट्रेसन चाहिने भएपछि ४० हजारमा किनेको जग्गा ३५ लाखमा खरिद बिक्री भएको किर्ते रजिष्ट्रेसन बनाए। 

उनीहरुले किर्ते ब्लुप्रिन्ट, किर्ते ब्लुप्रिन्टकै आधारमा ट्रेस नक्सा र गाविसको चारकिल्ला सिफारिस पत्र समेत कीर्ते बनाए। त्यसपछि उनीहरु सिधै बैंकमा पुगे र ऋण मागे। बैंकले कागजपत्रहरु सक्कली हो कि होइन कुनै जाँच नै नगरी त्यही कीर्ते कागजपत्रको आधारमा जग्गाको मुल्याङ्कन गरिदिए मुल्याङ्कनकर्ता राजेन्द्र पाख्रिनले।

अर्कोतिर ओमशान्ति इन्टरनेसनल विजनेस प्रालिको नाममा कम्पनीको बढी कारोबार भएको देखिने गरी लेखापरीक्षक खेमप्रसाद श्रेष्ठले कीर्ते लेखापरीक्षण प्रतिवेदन तयार गरिदिए। 

रजिष्ट्रेसन, ब्लुप्रिन्ट, ट्रेस नक्सा, चारकिल्ला सिफारिसपत्र र लेखापरीक्षण प्रतिवेदन सबै किर्ते कागजपत्र पेश गरेपछि बैंकका कर्जा विभाग प्रमुख प्रतीक भँडेल र महाप्रबन्धक विनोदकुमार कार्कीले २० लाख ५० हजार रुपैयाँ ऋण दिएका थिए। उनीहरुले कागजपत्रको आधिकारिकता जाँचविना, धितो र कम्पनीको स्थलगत निरीक्षण नगरीकन नै ऋण दिएका सिआइबीले जनाएको छ। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.