|

झापा : झापाको मुख्य व्यापारिक केन्द्र बिर्तामोडबाट मोटरसाइकल चोरी गर्ने गिरोहका मुख्य नाइकेसहित ६ जना पक्राउ परेका छन्। जिल्ला प्रहरी कार्यालय झापाले बिहीबार दिउँसो पत्रकार सम्मेलन गरी उनीहरूलाई सार्वजनिक गरेको हो। मोटरसाइकल चोरीमा संलग्न सबै भद्रपुरका छन्।

पक्राउ पर्नेमा मुख्य नाइके भद्रपुर नगरपालिका–७ निवासी २१ वर्षीय प्रकाश सहनी, सोही ठाउँका २४ वर्षीय प्रकाश दर्जी, २१ वर्षीय दीपक उराउ, २२ वर्षीय दीपेश राजवंशी, भद्रपुर १ निवासी ३० वर्षीय बिर्ख लिम्बु र भारत किशनगञ्ज जिल्ला बिरखोर घर भई हाल भद्रपुर–६ मा समिम ग्यारेज सञ्चालन गर्ने १९ वर्षीय मोहम्मद समिम रहेको प्रहरी कार्यालय झापाका डिएसपी वसन्त पाठकले जानकारी दिए।

प्रहरीले उनीहरूको साथबाट चोरीका ७ वटा मोटरसाइकलसमेत बरामद गरेको छ। प्रहरीले ५ वटा पल्सर, एउटा अपाची र एउटा सुपर स्प्लेन्डर मोटरसाइकल बरामद गरेको हो। बरामद ७ मोटरसाइकलमध्ये ६ जना सवारीधनी सम्पर्कमा आइसकेको डिएसपी पाठकले बताए। यता मोटरसाइकल चोरीमा संलग्न ६ जनालाई झापा जिल्ला अदालत भद्रपुरबाट ७ दिनको म्याद थपेर अनुसन्धान अघि बढाइसकेको उनले बताए। 

यसरी परे पक्राउ

बिर्तामोड आसपासका क्षेत्रबाट दैनिकजसो मोटरसाइकल चोरीका घटना बढ्न थाल्यो। मोटरसाइकलधनीले प्रहरीमा चोरीसम्बन्धी उजुरी दिन थालेपछि प्रहरी कार्यालय झापाबाट खटिएका सादा पोसाकका प्रहरीले बिर्तामोडमा निगरानी बढायो। प्रहरीले सूक्ष्म अनुसन्धान गर्दा मोटरसाइकल चोरी गर्ने गिरोहको मुख्य नाइके प्रकाश सहनीको पहिचान गर्‍यो।

त्यसपछि प्रहरीले सहनीमाथि निगरानी बढायो। सहनीले फागुन २३ गते दिउँसो सवा ३ बजे बिर्तामोडस्थित एभरेस्ट बैंक शाखा कार्यालयको कम्पाउन्डमा पार्किङ गरी राखेको लु ८३ प ३५५४ नम्बरको पल्सर मोटरसाइकल चोरी गरे। उनी सो मोटरसाइकल लिएर भद्रपुरतर्फ भागे। ‘प्रहरीले उनलाई लखेट्दै भद्रपुरबाट पक्राउ गर्‍यो,’ डिएसपी पाठकले भने, ‘नियन्त्रणमा लिएर सोधपुछ गर्दा अन्य संलग्न व्यक्तिको बारेमा जानकारी दिए।’

त्यसपछि उनीहरूलाई पनि सोही दिन पक्राउ गरिएको उनले बताए। मुख्य नाइके सहनी, दर्जी, उराउ र राजवंशी चाहिँ मोटरसाइकल चोरीमा संलग्न रहेको पाइएको छ। उनीहरूले चोरेर ल्याएका मोटरसाइकल लिम्बु र समिमले बेचबिखनका लागि मान्छे खोज्ने गरेको खुलेको छ। समिमले आफ्नो ग्यारेजमा लगेर त्यस्ता मोटरसाइकलको हुलिया परिवर्तन, नम्बर प्लेट हटाउने पनि गर्दै आइरहेको अनुसन्धानबाट खुलेको उनले बताए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.