|

हेटौंडा : बागमती प्रदेशको राजधानी हेटौंडामा रंगशाला नहुँदा वर्षेनि लाखौँ रुपैयाँ अस्थायी संरचना निर्माणमा खेर जाने गरेको छ। राष्ट्रियस्तरका खेलाडीहरूको उर्वर भूमिको रूपमा रहेको हेटौंडामा रंगशाला निर्माणका लागि विभिन्न पहल भए पनि ती योजना वर्षौदेखि योजनामा मात्रै सीमित रहँदै आएको छ।

गत जेठ २८ गते हेटौंडास्थित गौरीटार रंगशालाको शिलान्यास गरेको १२ वर्ष पुग्यो। तत्कालीन प्रधानमन्त्री माधवकुमार नेपालले शिलान्यास गरेको उक्त रंगशाला निर्माणले १२ वर्षसम्म पूर्णता पाएको छैन। वर्षौंदेखि रंगशाला बनाउन सरकारी क्षेत्रबाट भएको प्रयासले सफलता पाउन नसकेपछि पूर्व अन्तरराष्ट्रिय बक्सिङ खेलाडी सुविन घिमिरेले एक वर्षमा नै हेटौंडामा रंगशाला खडा गरिदिएका छन्।

घिमिरेले एक वर्षमा नै हेटौंडामा सुविधा सम्पन्न रंगशाला निर्माण गरेर वर्षौसम्म योजना अलपत्र पार्ने सरकारलाई नै चुनौती दिएका छन्। सामान्यतया एउटा निजी घर निर्माण गर्नका लागि नै एक वर्षको समय लाग्ने गर्दछ। कतिपय अवस्थामा एक वर्षमा पनि सामान्य निजी आवास पनि बन्न सकिरहेको हुँदैन तर हेटौंडामा एक वर्षमै रंगशाला निर्माण कार्य सम्पन्न हुनुले एउटा व्यक्तिको इच्छाशक्तिले केसम्म हुनसक्छ भन्ने उदाहरण दिएको छ।

सुशील घिमिरे एक समय नेपाललाई अन्तरराष्ट्रियस्तरमा चिनाउनकै लागि चलेको नाम हो। पिप्ले युवा क्लबका संस्थापक अध्यक्ष घिमिरे बक्सिङमा १० पटकसम्म नेशनल च्याम्पियन बनेका थिए। २०५४ सालमा बक्सिङ खेल्न शुरु गरेका उनले ६४ केजी तौल समूहको प्रतिस्पर्धामा १० वर्ष बक्सिङमा राज गरे। उनले बक्सिङमा जितेको ठूलो उपाधि श्रीलंकामा भएको दशौँ दक्षिण एसियाली खेलकुद (साग) को रजत पदक हो। बक्सिङ खेलेर हेटौंडालाई मात्रै नभई देशलाई नै अन्तरराष्ट्रियस्तरमा चिनाएका घिमिरेको प्रयासमा बनेको रंगशालाको शुक्रबार उद्घाटन भएको छ।

देशको प्रतिनिधित्व गर्दै विभिन्न स्थानको रंगशालामा खेल्न पुग्दा उनलाई आफ्नो ठाउँको सधैँ झ–झल्को आउँथ्यो। बाहिरी देशमा ठूला ठूला रंगशाला बन्दा पनि आफ्नो जन्मथलोले एउटा पनि रंगशाला पाउन नसकेपछि रंगशाला निर्माणमा अग्रसर बनेका उनले छोटो समयमै आफ्नो प्रयासलाई सफल पारेका छन्। 

हेटौँडामा २०७६ वर्ष फागुन अन्तिममा भएको स्थानीय तह शहीद स्मृति गोल्डकप फुटबल प्रतियोगितामा उनले हेटौँडाका मेयर हरिबहादुर महतलाई रंगशाला निर्माणको प्रस्ताव गरेका थिए। तत्कालीन जिल्ला खेलकुद विकास समिति मकवानपुरका अध्यक्षसमेत भइसकेका मेयर महतले घिमिरेलाई रंगशाला निर्माणमा आफ्नो पूर्ण सहयोग रहने बताएपछि उनले निर्माण प्रक्रियामा कदम अघि सारेका थिए।

शुक्रबार उनै मेयर महतले हेटौँडा–५ मा निर्माण भएको पिप्ले क्याम्पा रंगशालाको उद्घाटन गरेका छन्। हेटौँडा बजारबाट पूर्वपट्टि निर्माण भएको रंगशालामा ३ वटा प्यारापिट बनाइएको छ। दुईवटा प्यारापिट फलामको बनाइएको छ भने एउटा प्यारापिट सिमेन्टबाट बनाइएको छ। करिब साढे ३ बिघा क्षेत्रफलमा फैलिएको रंगशालामा अन्तरराष्ट्रिय मापदण्डको आठ लेनको ४ सय मिटर एथ्लेटिक्स ट्रयाक पनि बनाइएको छ।

ट्रयाक निर्माण गर्न ५ नम्बर वडाध्यक्ष राजेश बानियाँले वडाको ११ लाख बजेट विनियोजन गरेका थिए। ११ लाख बजेट आए पनि ट्रयाक निर्माण गर्न ३० लाख लागेको घिमिरेले बताए। ट्रयाकमा ४ सय टिपर ग्राभेल बिछ्याइएको छ। रंगशाला तयार हुँदासम्म संघसंस्था तथा व्यक्तिबाट नगद र निर्माण सामग्रीसहित ५० लाख बराबरको सहयोग प्राप्त भएको उनले जानकारी दिए। ५० मिटर लम्बाइ, १० मिटर चौडाइ र २२ मिटर हाइट रहेको सिमेन्टको प्यारापिटले रंगशालालाई सुन्दर देखाएको छ।

४ करोड लागत अनुमान गरिएको रंगशाला २ करोडमा निर्माण सम्पन्न भएको घिमिरेले बताए। रंगशालाको ५ हजार दर्शक क्षमता छ। सिमेन्टेड प्यारापिटमा २ हजार ५ सय, दुईतर्फ बनाइएको फलामे प्यारापिटको करिब २ हजार ५ सय दर्शक क्षमता रहेको उनले भनाइ छ। उनको अनुसार रंगशाला बनाउन हेटौँडा उपमहानगरपालिका र ५ नम्बर वडा कार्यालयले मात्रै सहयोग गरेका छन्। गत आर्थिक वर्ष २०७७।७८ मा सिमेन्टको प्यारापिटको जग हाल्न उपमहानगरपालिकाले ३४ लाख बजेट दिएको थियो। मेयर महतले चालू आर्थिक वर्ष २०७८।७९ मा प्यारापिट बनाउन ७५ लाख रुपैयाँ विनियोजन गरेका थिए। २ करोड २५ लाख प्राविधिक मूल्यांकन आए पनि १ करोड ९ लाखमा प्यारापिट तयार पारेको उनको भनाइ छ।

बालुवा, गिट्टी र सिमेन्ट सहयोग आएकाले अनुमान गरिएभन्दा कम लागतमा निर्माण सम्पन्न भएको उनले बताए। दुईतर्फ बनाइएको फलामको प्यारापिटका लागि पुनः उपमहानगरपालिकाले २० लाख रुपैयाँ बजेट दिएको थियो।

फुटबल मैदान घेर्न आफ्नो खर्चबाट तारजाली लगाइएको उनको भनाइ छ। तारजाली लगाउन ९ लाख रुपैयाँ खर्च भएको थियो। विश्व फुटबल संघ (फिफा) को मापदण्डअनुसार अलौटो माटो हालेर मैदान तयार गरिएको छ। करिब २ सय टिपर माटो ल्याउन मात्रै खर्च भएको उनले बताए।

मैदान सम्याउने, घाँस उमार्ने लगायतका काममा क्लबका युवाहरूले श्रमदान गरेका हुन्। घिमिरेको पनि दैनिकी रंगशाला निर्माणमै बित्ने गरेको थियो। उनी दिनभर रंगशालामा कामदारहरूसँगै काममा व्यस्त हुने गर्थे। 

बाँसको प्यारापिटमा बसेर खेल हेर्नुपर्ने बाध्यताको अन्त्य

हेटौंडा राष्ट्रिय अन्तरराष्ट्रियस्तरका खेलाडी उत्पादन गर्ने उर्वर स्थान मात्रै होइन, खेल निकै रुचाइने खेलप्रेमी जिल्ला पनि हो। यहाँ वर्षेनि दर्जनभन्दा बढी विभिन्न प्रतियोगिता आयोजना हुने गरेको छ। हालसम्म हेटौंडामा स्थायी रूपमा खेलकुद सञ्चालन गर्ने रंगशाला निर्माण नहुँदा झाडी फाँडेर बाँसको अस्थायी संरचना बनाउन लाखौँ खर्च हुँदै आएको थियो।

शुक्रबारबाट घिमिरेको प्रयासमा पिप्ले युवा क्लबले निर्माण गरेको रंगशाला सञ्चालनमा आएसँगै त्यो बाध्यता अन्त्य भएको छ। एउटा पनि रंगशाला नहुँदा बाँसको र अस्थायी प्रकृतिको फलामको प्यारापिटमा बसेर खेल हेर्नुपर्ने दर्शकको बाध्यता पिप्ले रंगशाला निर्माण भएसँगै अन्त्य भएको हो। हेटौँडाका अधिकांश फुटबल खेल वन विज्ञान अध्ययन संस्थानको खेलमैदानमा हुने गरेका थिए।

त्यसैगरी हेटौंडा उपमहानगरपालिकाले आयोजना गर्ने मेयरकप लगायतका खेलकुद प्रतियोगिता पनि हेटौंडाको हुप्राचौरमा आयोजना हुँदै आएको थियो। पिप्ले क्याम्पा रंगशाला सञ्चालनमा आएसँगै अस्थायी संरचना निर्माण हुने खर्च जोगिने भएको छ। शुक्रबार उद्घाटन भएको उक्त रंगशालामा बागमती प्रदेश सरकारले शनिबार प्रदेशको प्रथम प्रदेश खेलकुद प्रतियोगिताको बृहत् उद्घाटन समेत गर्दै छ। 


 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.