|

काठमाडौँ : सहकारी प्रकरणमा संसदीय छानबिन समिति बनाउने सन्दर्भमा भएको प्रमुख दलका शीर्ष नेताहरुको बैठक सकारात्मक दिशामा अघि बढेको बताइएको छ।

शुक्रवार प्रधानमन्त्री निवास बालुवाटारमा प्रमुख दलका शीर्ष नेताहरुको बैठक बसेको थियो। बैठकमा सहकारी प्रकरणमा संसदीय छानबिन समिति बनाउनुपर्ने माग राखेर संसदमा प्रमुख प्रतिपक्षी दलले गरिरहेको अवरोध खोल्ने विषयमा छलफल भएको छ। 

छलफलपछि सञ्चारकर्मीसँग नेपाली कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले छलफल सकारात्मक भएको प्रतिक्रिया दिए। उनले समिति बनाउन सबैको जोडबल रहेको बताए। 

नेपाली कांग्रेसले कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहिया पक्राउ परेको सन्दर्भमा आफूहरुको गम्भीर ध्यानाकर्षण भएको कुरा प्रधानमन्त्रीलाई जानकारी गराएको पनि उनले बताए। 

उनले गृहमन्त्री रवि लामिछानेले संसदको रोष्ट्रममा उभिएर नेपाली कांग्रेसका विभिन्न नेताहरुलाई लाञ्छना गरेको भन्दै सो सम्बन्धमा पनि प्रधानमन्त्रीको ध्यानाकर्षण गराएको बताए।

‘सकारात्मक रुपमै आज छलफल भएको छ। समिति बनाउनेतर्फ नै सबैको जोडबल छ‚’ उनले भने‚ ‘आजको बैठकमा प्रधानमन्त्रीजीको कान्तिपुर मिडिया ग्रुपको अध्यक्ष कैलाश सिरोहियालाई जुन ढंगले धरपकड गरियो र आतंकित गर्ने काम भयो त्यसबारेमा हाम्रो गम्भीर रुपमा ध्यानाकर्षण भएको छ भनेर हामीले कुरा उठायौँ।’

उनले कुनै व्यक्ति र संस्थाको विषयभन्दा पनि सहकारीमा अपचलन भएको सम्बन्धमा छानबिन हुने कुरा मुख्य भएकाले भाषा र शैली मिलाउन सकिने धारणा राखे।

‘केही दिन पहिला गृहमन्त्री रवि लामिछानेले प्रतिनिधिसभाको रोष्ट्रममा उभिएर जुन ढंगले विषयवस्तु प्रस्तुत गर्नुभएको छ, सदनभित्र रहनुभएका माननीयहरुलाई, नेपाली कांग्रेसलाई लाञ्छित गरेर उहाँले प्रश्न उठाउनुभएको छ, यसमा प्रधानमन्त्रीको ध्यानाकृष्ट गर्न चाहान्छौँ भनेर भनेका छौँ‚’ उनले भने‚ ‘मुख्य मुद्दा विभिन्न सहकारीबाट अपचलन भएको जुन छ, कहाँ, कुन सहकारीबाट गयो‚ कहाँ गयो भन्ने उठेको छ। गृहमन्त्रीजीको नाम पनि त्यहाँ जोडिइराखेको छ। उहाँको संलग्नता देखिइराखेको छ भन्ने विषय सम्बोधन गर्नुपर्‍यो। कुन भाषा, शैलीमा गर्ने भन्ने कुरा त बसेर भाषा मिलाउँदा हुने भयो।’

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.