|

बझाङ : जिल्ला प्रशासन कार्यालय बझाङले होलीलाई मर्यादित बनाउन सबैमा अनुरोध गरेको छ। सहायक प्रमुख जिल्ला अधिकारी रामराज गौतमले एक सूचना जारी गर्दै होलीमा कसैलाई पनि इच्छाविपरीत रङ नदल्न आग्रह गरेका छन्।

होली मनाउने नाममा रीतिरिवाज र परम्पराविपरीत उछृङ्खल क्रियाकलाप नगर्न प्रशासनले आग्रह गरेको हो। सूचनामा सर्वसाधारणलाई दुःख दिने, इच्छाविपरीत रङ दल्ने, लोला तथा फोहोर पदार्थले हान्ने, मादकपदार्थ सेवन गरेर अवाञ्छित क्रियाकलाप गरी शान्ति सुरक्षामा खलल पुग्ने गतिविधि नगर्न भनिएको छ।

यसमा राजनीतिक दल, नागरिक समाज, पेशागत सङ्घ संस्था, सञ्चारकर्मी, महिला सञ्जाललगायत सबै पक्षबाट सहयोगको अपेक्षा गरिएको सूचनामा भनिएको छ। कसैले अवाञ्छित एवं उच्छृङ्खल क्रियाकलाप गरेको पाइए कारबाही गर्ने चेतावनीसमेत प्रशासनले दिएको छ।

यता, जिल्ला प्रहरी कार्यालय बझाङले पनि सभ्य तरिकाले, स्वास्थ्य सुरक्षाका मापदण्ड अपनाई फागु पूर्णिमा मनाउन आग्रह गरेको छ। प्रहरीले होली खेल्दा अण्डा, मोबिल, लोला तथा फोहोर पानी प्रयोग नगर्न आग्रह गरेको हो।

यस्तै, मादकपदार्थ सेवन गरेर सवारीसाधन नचलाउन तथा सवारीसाधन तीव्रगतिमा नचलाउन पनि प्रहरीले आग्रह गरेको छ। मोटरसाइकलमा दुईजनाभन्दा बढी नचढ्न, अपरिचित व्यक्तिले दिएको खाने कुरा नखान, लागुऔषध सेवन नगर्न तथा चर्को आवाज आउने गरी डिजे गीत र बाजा नबजाउन पनि प्रहरीले सबैमा आग्रह गरेको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.