जाँचबाट क्षयरोग पत्ता लाग्ने र नियमित औषधि सेवन गरे सजिलै निको हुन्छ : मन्त्री यादव

|

विराटनगर : प्रदेश १ का स्वास्थ्यमन्त्री जयराम यादवले प्रयोगशालाको प्रभावकारी जाँचबाट क्षयरोग पत्ता लाग्ने र नियमित औषधि सेवन गरे सजिलै निको हुने बताएका छन्। क्षयरोग निवारण दिवसका अवसरमा स्वास्थ्य मन्त्रालय, विराटनगर महानगरपालिका, स्वास्थ्य निर्देशनालय र नेपाल क्षयरोग निवारण संस्थाद्वारा संयुक्त रुपमा आज (बिहीबार) आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री यादवले यस्तो बताएका हुन्।

समुदाय नागरिक समाज, सार्वजनिक तथा निजी सेवा प्रदायकहरूको ऐक्यबद्धता तथा सहभागितामा जोड दिएर क्षयरोग नियन्त्रण गर्नुपर्ने उनले बताए। उनले आसन्न स्थानीय तहको निर्वाचनका वेला घरदैलो कार्यक्रममा जाँदा क्षयरोग, हात्तीपाइले रोग, आमा सुरक्षाजस्ता विभिन्न खोपका विषयमा जनतालाई जानकारी गराउनसमेत आग्रह गरे।

प्रदेश १ मा सबैभन्दा धेरै क्षयरोगका बिरामी झापामा भेटिएको स्वास्थ्य निर्देशनालय धनकुटाका निर्देशक ज्ञानबहादुर बस्नेतले बताए। उनका अनुसार झापामा ९ सय ९२, मोरङमा ९ सय ६८ र सुनसरीमा ८ सय ८९ जना क्षयरोगको बिरामी भेटिएको छ।

उनका अनुसार प्रदेश १ मा ३ हजार ५ सय ५९ जना क्षयरोगका बिरामी रहेको पाइएको छ। प्रत्येक वर्ष प्रदेशमा १२ हजार नयाँ क्षयरोगको बिरामी थपिने गरेको राष्ट्रिय क्षयरोगको सर्वेक्षणबाट देखिएको छ। ७० प्रतिशत क्षयरोगको बिरामी प्रदेशमा पत्ता लगाउन नसकेको उनको भनाइ छ। प्रदेश १ मा ९ सय २५ वटा क्षयरोग उपचार केन्द्र, ३ वटा डट उपचार केन्द्र र ८३ वटा माइक्रोस्कोपिक सेन्टर रहेका छन्।

देशभरि २८ हजार ६ सय ७७ क्षयरोगी रहेको जानकारी दिँदै उनले क्षयरोगका बिरामी वृद्धि भइरहँदा समुदायमा अझै पनि सचेतनाको कमी रहेको उनी बताउँछन्। १४ जिल्ला रहेको प्रदेश १ का सबै जिल्लामा जिनएक्स्पर्ट मेशिन नभएको बताउँदै  उनले भने, ‘यो मुख्य चुनौतीको विषय हो। भएका मेसिन पनि पूर्ण क्षमतामा सञ्चालनमा आएका छैनन्।’

सन् २०५० सम्ममा क्षयरोगमुक्त नेपाल घोषणा अभियानको लागि यस आवमा संघीय सरकारबाट प्रदेश १ का ४ वटा पालिकामा बजेट तथा कार्यक्रम आएर काम पनि शुरु भएको उनले बताए। उनले क्षयरोगीको स्याहार तथा रोकथामका लागि उपयुक्त स्रोतसाधनसहित राजनीतिक प्रतिबद्धता पनि आवश्यक रहेकोसमेत बताए।

‘क्षयरोग अन्त्यका लागि लगानी बढाऔं, जीवन बचाऔं’ नारासहित र्‍याली

विश्व क्षयरोग दिवसको अवसरमा ‘क्षयरोग अन्त्यका लागि लगानी बढाऔं, जीवन बचाऔं’ मूल नारासहित र्‍याली पनि निकालिएको छ। प्रदेश १ को सामाजिक विकास मन्त्रालयबाट शुरु भएको उक्त र्‍यालीमा  विभिन्न ६ वटा संघसंस्थाले सहभागिता  जनाएका थिए। र्‍यालीले विराटनगर महानगरपालिका परिक्रमा गरि बी प्लटमा आएर कोणसभामा परिणत भएको थियो।

स्वास्थ्य निर्देशनालय धनकुटा, स्वास्थ्य कार्यालय मोरङ, प्रदेश स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्र, प्रदेश जनस्वास्थ्य, विराटनगर महानगरपालिका, नेपाल क्षयरोग निवारण संस्था, बागमती सेवा समाज नेपाल, विराटनगर नर्सिङ क्याम्पस ब्यानरसहित र्‍यालीमा सहभागी भएका थिए। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.