|

चितवन : दोस्रो राष्ट्रिय महिला लिगमा त्रिभुवन आर्मी फुटबल क्लबले फराकिलो जित हात पारेको छ। आज (आइतबार) भएको पहिलो खेलमा आर्मीले ललितपुरलाई ७–० ले पराजित गर्‍यो।

आर्मीको जितमा शर्मिला थापा मगर र रश्मि घिसिङले समान दुई दुई गोल गरे। विमला चौधरी र कुसुम खतिवडाले एक–एक गोल गरे। आर्मीले एक गोल भने उपहार पाएको थियो। 

पहिलो हाफमै ललितपुरको पोष्टमा ५ गोल गर्‍यो। खेलको ८ औं मिनेटमा विमलाले गोल गर्दै आर्मीलाई सुरुवाती अग्रता दिलाइन्। उनले हेमा चौधरीको क्रसमा गोल गरिन्।

लगत्तै १२ औं मिनेटमा शर्मिलाले गोल गर्दै आर्मीको अग्रता दोब्बर बनाइन्। उनले विमलाको क्रसमा गोल गरेकी हुन्। १५ औं मिनेटमा शर्मिलाले गोल गर्दै आर्मीलाई ३–० को अग्रता दिलाइन्। २४ औं मिनेटमा शर्मिलाले व्यक्तिगत दोस्रो गोल गर्दै आर्मीको अग्रता ४–० बनाइन्।

४० औं मिनेटमा रश्मिले व्यक्तिगत दोस्रो गोल गरेपछि पहिलो हाफमा आर्मीले ५–० को अग्रता लियो। पहिलो हाफमा ललितपुरले केही अवसर सृजना गरे पनि आर्मीको डिफेन्स तोड्न सकेन।

५९ औं मिनेटमा आर्मीले उपहार गोल पायो। बल क्लियर गर्न खोज्दा ललितपुरकी कप्तान सिर्जना सिंहले आफ्नै पोष्टमा गोल गरिन्। ८१ औं मिनेटमा आर्मीले ७–० को अग्रता लियो। दोस्रो हाफमा मैदान प्रवेश गरेकी कुसुम खतिवडाले डिबक्स भित्रबाट सुन्दर गोल गरिन्।

दोस्रो हाफमा ललितपुरले सुधारिएको प्रदर्शन गरे पनि गोल फर्काउन सकेन। खेलको प्लेयर अफ दि क्याच आर्मीकी शर्मिला भइन्।

यो जितसँगै आर्मीले तालिकामा दुई खेलबाट तीन अंक जोडेको छ। आर्मी पहिलो खेलमा सशस्त्र प्रहरी बल (एपिएफ) फुटबल क्लबसँग पराजित भएको थियो। पराजित ललितपुरको पनि दुई खेलबाट समान अंक छ। ललितपुरले पहिलो खेलमा चन्द्रपुरलाई पराजित गरेको थियो। दोस्रो खेलमा अहिले वालिङ र विराटनगर भिड्दै छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.