|

दक्षिण अफ्रिकालाई १ सय ३७ रनले पराजित गर्दे इंग्ल्यान्ड महिला विश्वकपको फाइनलमा प्रवेश गरेको छ।

पहिलो ब्याटिङ गर्दै इंग्ल्यान्डले दिएको २ सय ९४ रनको विजयी लक्ष्य पछ्याएको दक्षिण अफ्रिका ३८ ओभरमै १ सय ५६ रनमा समेटिएपछि इंग्ल्यान्डले सहज जित निकालेको हो। इंग्ल्यान्डले अब उपाधिका लागि अस्ट्रेलियासँग प्रतिस्पर्धा गर्नेछ।

क्राइस्टचर्चमा टस हारेर पहिलो ब्याटिङ गरेको इंगल्यान्डले निर्धारित ५० ओभरमा ८ विकेट गुमाएर २ सय ९३ रनको उच्च स्कोर तयार गरेको थियो। इंग्ल्यान्डको विशाल स्कोरमा ओपनर डानि वाटले सर्वाधिक १ सय २९ रनको योगदान दिँदा सोफिया डन्क्लीले ६० रन बनाइन्।

एमी जोनेसले २८ रन बनाउँदा सोफिया एसलेस्टोनले २४ रन तथा नाट साइभरले १५ रनको योगदान दिएकी थिइन्। दक्षिण अफ्रिकाका लागि शभिम स्माइलले ३ विकेट लिँदा मार्जनी काप र मासबाटा क्लासले २/२ विकेट लिएका थिए। अबोङ्गा खकाले १ विकेट लिइन्।

२ सय ९४ रनको लक्ष्य पछ्याएको दक्षिण अफ्रिका खराब प्रदर्शनको शिकार भयो। ३८ ओभरमा नै दक्षिण अफ्रिका १ सय ५६ रनमा अलआउट भयो। उसका लागि मिगन्न दु प्रेजले ३० रन बनाउँदा लारा गुडल २८ रनमा आउट भएकी थिइन्।

उसका लागि थप दोहोरो स्कोरका रुपमा त्रिशा चेटी, कप्तान सुने लुस र मार्जनी कापले तीनै जनाले २१/२१ रन बनाएका थिए। दक्षिण अफ्रिकालाई सस्तैमा समेट्ने क्रममा सोफी एसलेस्टोन एक्लैले ६ विकेट लिएकी थिइन्। अन्या श्रुससोले २ विकेट लिँदा केट क्रस र चार्ली डेनले १-१ विकेट लिएका थिए। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.