|

धनकुटा : धनकुटा नगरपालिका–२ स्थित भीरगाउँमा बनेको स्वास्थ्य चौकी भवन उद्घाटन गर्न शहरी विकासमन्त्री रामकुमारी झाँक्री शुक्रबार बेलुका धनकुटा आइपुगिन्। शनिबार उक्त चौकी उद्घाटन गर्ने कार्यक्रम तय भएको थियो।

मन्त्री झाँक्री आइपुग्नुअगाडि नै धनकुटाका सांसद राजेन्द्र राईले शुक्रबार नै भीरगाउँ पुगेर उक्त भवन उद्घाटन गरिदिए। सघन शहरी तथा भवन निर्माण आयोजनाद्वारा १ करोड ९७ लाख लागतमा भवन निर्माण गरिएको थियो।

शहरी विकास कार्यालय धनकुटाले मन्त्री झाँक्रीबाट उद्घाटन गर्ने कार्यक्रम तय गरी शिलालेख समेत तयार पारेको थियो। तर नेकपा एमालेबाट निर्वाचित वडाध्यक्ष चन्द्रलाल तामाङले मन्त्री झाँक्रीले उद्घाटन गर्ने शिलालेख हटाएर अर्कै शिलालेख तयार पारे। उनले नयाँ शिलालेखमा सांसद राईको नाम लेखाएर उनैबाट उद्घाटन गराइदिए। 

यता शहरी विकासमन्त्री झाँक्री शनिबार बिहान भवन उद्घाटन गर्न पुग्दा अघिल्लै दिन उद्घाटन भइसकेको थियो। झाँक्रीले पत्रकार भेटघाटमा आफूहरू उद्घाटन गरेर भित्तामा नाम लेखाउन लालायित नभएको बताइन्। उनले आक्रोश व्यक्त गर्न थालिन्।

उनले आक्रोश व्यक्त गर्दै भनिन्, ‘धनकुटाका सांसद राईलाई भेडेटार मुनि कसैले चिन्दैनन्।’ धनकुटाको भीरगाउँमा रूख ढालेर दादागिरी देखाएको उनले बताइन्। मन्त्री झाँक्री भीरगाउँ जाने सडकमा रूख ढालिएको थियो। आफूलाई धनकुटा आउन नदिन एमाले कार्यकर्ताले उक्त रूख ढालेको आरोप लगाइन्। उनले ठेकेदारले हस्तान्तरण नगरी भवन उद्घाटन गर्न लालायित नभएको पनि ठोकुवा गरिन्।

उनले निर्माण सम्पन्न भएपछि भव्य कार्यक्रम गरेर उद्घाटन गर्ने बताइन्। उक्त भवन निर्माण सम्पन्न नभएकाले निर्माणकर्ताले हस्तान्तरण नगरेको बताइन्। यद्यपि उनले उक्त भवन शनिबार उद्घाटन कार्यक्रम थियो।

स्वास्थ्य चौकीको विषयमा शहरी विकास कार्यालय धनकुटाका प्रमुख रञ्जन दासले शनिबार मन्त्री झाँक्रीले स्वास्थ्यचौकी उद्घाटन गर्ने कार्यक्रम रहेको र शिलालेख बनाएर पठाइसकिएको भए पनि सांसद राईले उद्घाटन गरिसकेको थाहा पाएपछि कार्यक्रम रद्द गरिएको बताए।

धनकुटाका संसद् राईतिर लक्षित गर्दै मन्त्री झाँक्रीले स्थानीय राजनीतिक नेतृत्व राम्रो नभएकाले धनकुटाबाट प्रदेश राजधानी खोसिएको बताइन्। उनले एमालेतर्फ इंगित गदै भनिन्, ‘जनताले सही मानिस चयन नगरेका कारण धनकुटाले प्रदेश राजधानी मात्र गुमाएन।’

उनी बोल्दै गइन्– त्यस्तै प्रतिनिधिका कारण जिल्लामा कर्मचारी आउन समेत चाहेका छैनन्।

मन्त्री झाँक्रीले एमालेलाई बनमाराको संज्ञा दिँदै हाल केन्द्रदेखि वडा तहमा भएको गठबन्धन आगामी ५ वर्षसम्म स्थायित्व हुने गरी निर्माण गरिएको बताइन्।

कोभिडको मारमा परेका व्यवसायीका लागि सरकारले ल्याएको सरकारी रकम दुरुपयोग भएको जानकारी आएको बताएकी छन्। मन्त्री झाँक्रीले सरकारले ल्याएको बजेट धनकुटाका स्थानीय तहले दुरुपयोग गरेको बताइन्।

एमालेमा नेपाली राजनीतिको घातक प्रवृत्ति रहेको बताउँदै मन्त्री झाँक्रीले धनकुटाका सबै स्थानीय तहमा एमाले भएकै कारण रकम दुरुपयोग भएको आरोप लगाइन्। उनले एमाले जस्तो घातक बादशाहको पतन अनिवार्य रहेको बताइन्।

नेकपा (एकीकृत समाजवादी)की सचिव समेत रहेकी मन्त्री झाँक्रीले नागरिक आवास कार्यक्रम केपी ओली सरकारले कमिशनको लोभमा ल्याएको बताएकी छन्। उनले सो कार्यक्रमको सट्टा सरकारले नयाँ कार्यक्रम ल्याउन लागेको जानकारी दिइन। ओली सरकारले ल्याएका बजेटविहीन योजना कटौती गरेको बताउँदै ओली सरकारले ल्याएका योजनामा दमक भ्युटावरमा मात्रै काम भइरहेको तथा अन्यमा बजेटविनै योजना आएको बताइन्।

मन्त्री झाँक्रीले ओली सरकारले प्रदेश १ का झापा, मोरङ, सुनसरी तथा मधेश प्रदेशका सिरहा सप्तरीमा करोडौं बजेट विनियोजन गरिए पनि कुनै एकीकृत बस्ती आफूले नभेटेको बताइन्। सन्थाल बस्ती होस् वा चौधरी बस्ती र मुसहर एकीकृत बस्तीमा कुनै काम हुन नसकेको मन्त्री झाँक्रीको भनाइ छ।

यी आयोजनामा भएको भ्रष्टाचारको खोजी गर्न अर्थ मन्त्रालयसँग समन्वय गरिसकेको उनको भनाइ छ। उनले नागरिक आवास र सुरक्षित आवासका सबै कार्यक्रम यसै आर्थिक वर्षमा अन्त्य गरिने बताइन्।

मन्त्री झाक्रीले वडादेखि संघीय निर्वाचनसम्म गठबन्धन भएर निर्वाचनमा जाने बताउँदै गठबन्धन समयको माग भएको दाबी गरिन्।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.