|

सल्यान : जंगलमा लाग्ने डढेलो नियन्त्रण गर्न सल्यानमा आगलागी नियन्त्रण सञ्जाल निर्माण गरिएको छ। सल्यान डढेलो जोखिमको दोस्रो स्थानमा रहेको  छ। डढेलो नियन्त्रण सल्यानमा डिभिजन वन कार्यालय मातहत रहेका ८ सब डिभिजन स्तरमा आगलागी नियन्त्रण सञ्जाल निर्माण गरिएको हो।

कुल क्षेत्रफलको ६५.६८ प्रतिशत अर्थात् १ लाख २८ हजार २०५ हेक्टर क्षेत्रफल वनले ढाकेको छ। जिल्लाको अधिकांश वन सल्लाको मात्र भएकाले सल्यान डढेलोको उच्च जोखिममा रहेको डिभिजन वन कार्यालय सल्यानका प्रमुख रमेश गिरीले बताए। डढेलो नियन्त्रण गर्न स्थानीय सामुदायिक वन र उपभोक्तालाई नै धेरै जवाफदेही बनाउने उद्देश्यका साथ सञ्जाल गठन गरिएको गिरीको भनाइ छ।

उनले भने, ‘डढेलो नियन्त्रणका लागि कार्यालयले काम गरिरहेको छ। डढेलो नियन्त्रण गर्न कार्यालय एक्लैले केही गर्न नसक्ने भएकाले स्थानीय उपभोक्ता र सामुदायिक वन समूहलाई बढी जिम्मेवारी बनाउने प्रयास गरिएको छ।’

सञ्जालमा डढेलोविरुद्ध सचेतना, अग्निरेखा निर्माण, अग्निरेखा सरसफाइ अभियान अघि सारिएको कार्यालयले जनाएको छ। डढेलोबाट मानव वन्यजन्तुको क्षतिसँगै पर्यावरणीय क्षति समेत हुने उनको भनाइ छ। उनले भने, ‘डढेलो नियन्त्रणमा समुदायको तदारुकता जरुरी छ। त्यसैले वन जोगाउन सामुदायिक वनका उपभोक्ताको अहं भूमिका रहेकाले सबै मिलेर वनलाई डढेलो लाग्नबाट जोगाउनु पर्छ।’

गर्मीयाम शुरु भएसँगै वनमा हुने डडेलो नियन्त्रण गर्न आगलागी नियन्त्रण सञ्जाल गठन गरिएको कार्यालयले जनाएको छ। आगलागीका कारणले वनमा हुने क्षति रोक्न पूर्व सजगता अपनाइएको कार्यालय प्रमुख गिरीको भनाइ छ। 
 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.