|

पर्सा : सर्लाहीको मलंगवामा गोली हानी एक युवकको हत्या भएको २४ घण्टा नबित्दै पर्साबाट लङ रेन्जको दुईनाले हतियार सहित ३ अभियुक्त पक्राउ परेका छन्। उनीहरूलाई मोटरसाइकलबाट गल्लीमा निस्केको सशस्त्र प्रहरीको गस्ती टोलीले पक्राउ गर्न सफल भएको हो।

खुला सिमानाका कारण सीमावारि हुन सक्ने आपराधिक गतिविधि रोक्न खटेको सशस्त्रको टोलीले पर्साको विन्दवासिनी गाउँपालिका–३ नहर चोकबाट बिहीबार पक्राउ गरेको हो।

अभियुक्त बिहीबार लङ रेन्जको हतियार र त्यसमा लाग्ने एक थान कार्टिज पनि लिएर मोटरसाइकल चढी पर्साको सबैठवाबाट पर्सागढीतर्फ जाँदै गरेका थिए। सोही समयमा सशस्त्र प्रहरीले चेकजाँच गरी पक्राउ गर्न सफल भएको सशस्त्र प्रहरी बल हे.क्वा. १३ गणले जनाएको छ।

पक्राउ पर्ने व्यक्ति पर्सागढी नगरपालिका–५ निवासी ५५ वर्षीय रामजी ठाकुर, ४१ वर्षीय प्रेम ठाकुर र १६ वर्षीय राहुल ठाकुर रहेको सशस्त्र प्रहरी बल गण नम्बर १३ का सशस्त्र प्रहरी नायव उपरीक्षक निर्मल थापाले बताए। ना ५७ प ३६२८ नम्बरको अपाची टिभिएस मोटरसाइकलमा सवार उनीहरूलाई बिहीबार नियन्त्रणमा लिएको उनको भनाइ छ।

निर्वाचनलाई लक्षित गरी वैध हतियार समेत नियामक निकायमा बुझाउनुपर्ने समयमा दुईनाले अवैध हतियार फेला पर्नु थप सुरक्षा सतर्कतामा ध्यान पुर्‍याउनुपर्ने पनि संकेत देखिएको प्रहरीको भनाइ छ।

बुधबार सर्लाहीको सदरमुकाम मलंगलामा गोली प्रहारबाट मोटरसाइकलमा सवार भारतीय नागरिक इन्दल महतोको ज्यान गएको छ।
 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.