|

भोजपुर : विद्यार्थीलाई पठनपाठनमा प्रोत्साहन गर्ने उद्देश्यले पौवादुङमा गाउँपालिका भरिका उत्कृष्ट अंक ल्याउने नौजना विद्यार्थीलाई छात्रवृत्ति वितरण गरिएको छ।

वार्षिक परीक्षामा उत्कृष्ट अंक ल्याउने विद्यार्थीलाई ‘गाउँपालिका अध्यक्ष छात्रवृत्ति कार्यक्रम’अन्तर्गत एक लाख रुपैयाँ वितरण गरिएको छ। कार्यक्रमअन्तर्गत गाउँपालिकाभित्रका चारवटा विद्यालयमा कक्षा ५, ८ र १० मा अध्ययनरत विद्यार्थीलाई पुरस्कृत गरिएको हो।

सानोदुम्मा मावि सोनोदुम्मा, तिवारी भञ्ज्याङ माध्यमिक विद्यालय, महादेवी आधारभूत विद्यालय, बालकल्याण आधारभूत विद्यालयमा अध्ययनरत उत्कृष्ट विद्यार्थीलाई छात्रवृत्ति दिएको गाउँपालिकाले जनाएको छ।

पुुुरस्कृत विद्यार्थीलाई गाउँपालिकाका अध्यक्ष किरण राईले नगद सहित प्रमाणपत्र वितरण गरेका हुन्। गाउँपालिका अध्यक्ष राईले आर्थिक अवस्था कमजोर भएका तथा विद्यालयमा उत्कृष्ट अंक ल्याउने विद्यार्थीहरूलाई प्रोत्साहित गर्दै नियमित विद्यालय आउने वातावरण निर्माणका लागि गाउँपालिकाले छात्रवृत्ति वितरण गरेको बताए।

अध्यक्ष राईले भने, ‘गाउँपालिकाले यहाँका विद्यालयलाई प्रोत्साहन गर्न विभिन्न कार्यक्रम सञ्चालन गरिहेको छ। यसले विद्यार्थीहरूको शैक्षिक विकासमा टेवा पुगेको छ। अहिले छात्रवृत्तिले विद्यार्थीको पठनपाठनमा थप टेवा पुग्नेछ।’

गाउँपालिका अध्यक्ष छात्रवृत्ति कार्यक्रमअन्तर्गत छनौट भएर पुरस्कृत भएकोमा विद्यार्थीहरू समेत हर्षित देखिएका छन्। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.