|

काठमाडौं : नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारी निलम्बित भएका छन्। मन्त्रिपरिषद्को बिहीबारको बैठकले देशको अर्थतन्त्र गभर्नर अधिकारीले धराशायी बनाएको ठहर गर्दै उनीमाथि छानबिन गर्न समिति गठनको निर्णय गरेको मन्त्रिपरिषद स्रोतले जानकारी दिएको छ।

सो निर्णयबमोजिम अर्थ मन्त्रालयले शुक्रबार सर्वोच्चका पूर्वन्यायाधीश पुरुषोत्तम भण्डारीको संयोजकत्वमा ३ सदस्यीय छानबिन समिति गठन गरेपछि गभर्नर अधिकारी निलम्बनमा परेका हुन्। ऐनको व्यवस्थाअनुसार छानबिन समिति गठन भएपछि गभर्नर स्वतः निलम्बन हुने प्रावधान छ।

मन्त्रालयले गठन गरेको छानबिन समितिमा डा सूर्य थापा र डा चन्द्रकान्त पौडेललाई सदस्य राखिएको छ। समितिलाई एक महिनाभित्र छानबिनको प्रतिवेदन पेश गर्न भनिएको छ।

प्रधानमन्त्री शेरबहादुर देउवाले नै गभर्नरबारे छानबिन गर्न अर्थमन्त्री जनार्दन शर्मा प्रभाकरलाई निर्देशन दिएको बताइएको छ। बैठकमा प्रधानमन्त्री देउवाले आक्रोशित हुँदै अधिकारीमाथि काम गर्न नसकेको आरोप लगाएको स्रोतले बताएको छ। 

राष्ट्र बैंककी डेपुटी गभर्नर नीलम ढुंगानालाई कार्यवाहक गभर्नरको जिम्मेवारी दिइएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.