|

काठमाडौं : नेपाली फुटबलमै प्रतिष्ठित मानिने मोफसलको चर्चित प्रतियोगिता बुढासुब्बा गोल्डकपको जारी संस्करण तत्कालका लागि स्थगित गरिएको छ।

सुनसरीको धरानमा शनिबारदेखि सुरु हुने तय भएको २३ औं अन्तर्राष्ट्रिय आमन्त्रण बुढासुब्बा गोल्डकप आर्थिक अभावका कारण निर्धारित समयमा सुरू हुन नसकेको जनाइएको छ। प्रतियोगिता सुरू हुन एक दिनअघि धरान फुटबल क्लबले प्रतियोगिता गर्न नसक्ने जानकारी दिएसँगै उसको कमजोर आर्थिक अवस्थाबारे जानकारी बाहिर आएको हो।

आयोजक तथा क्लबका अध्यक्ष किशोर राईले चैत २६ गतेदेखि हुने तालिका रहे पनि विभिन्न कारणले प्रतियोगिता गर्न नसकिने जानकारी दिए। उनले भने‚ ‘प्रतियोगिता गर्न आवश्यक आर्थिक सहयोग जुट्न नसकेको अवस्थालगायत अन्य कारणले तोकिएको समयमा प्रतियोगिता सञ्जालन गर्न असमर्थ भएका छौं।’

अध्यक्ष राईले गोल्डकपका लागि अपेक्षाकृत सहयोग जुट्न नसकेको स्वीकार्दै स्थानीय तह निर्वाचन र कोरोना महामारीलाई समेत गोल्डकप रोकिने कारणका रुपमा रहेको उल्लेख गरे। उनले दर्शक तथा फुटबलप्रेमीमा पर्न गएको असुविधामा क्षमा प्रार्थी रहेको बताए।

प्रतियोगिता यस वर्ष नभए आउँदो वर्ष निरन्तरता दिन आवश्यक छलफल भइरहेको उनले जानकारी दिए। यसअघि आयोजकसहित आठ टोलीको सहभागिता रहने प्रतियोगिता चैत २६ देखि ३ बैशाखसम्म आयोजना गर्ने तयारी गरिएको थियो। प्रतियोगिता गर्न आयोजक पक्षले ६६ लाख रुपैयाँ अनुमानित आय र ५१ लाख ३२ हजार रुपैयाँ खर्च हुने पूर्वानुमान गरेको थियो। प्रतियोगितामा विजयी टोलीले ट्रफीसहित १० लाख र उपविजेताले ५ लाख रुपैयाँ पाउने आयोजकले जनाएको थियो।

२०७६ सालमा सम्पन्न २२औं संस्करणमा विभागीय टोली नेपाल पुलिस क्लबलाई ३-० गोलले पराजित गर्दै मनाङ मर्स्याङदी क्लब विजयी भएको थियो। त्यसयता कोभिडका कारण प्रतियोगिता हुन सकेको छैन।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.