|

भक्तपुर : भक्तपुरमा यस वर्षको बिस्का जात्रा शुरु भएको छ। भक्तपुरको तमारीस्थित पाँचतले मन्दिरअगाडिबाट आइतबार साँझ नकिंजु अजिमाको रथलाई घटखामा लगी भैरवनाथको रथ तानातान गर्दै बिस्का जात्रा शुरु भएको हो। यो जात्रा भक्तपुरमा ८ रात ९ दिनसम्म हुन्छ।

प्यागोडा शैलीमा बनाइएको काठको तीनतले भैल खःलाई क्वने र थनेका (तल्लो र माथ्लो टोलका) बासिन्दाले रथको अगाडि ५ वटा र पछाडि ४ वटा डोरीले तानातान गरेर आ–आफ्नो टोलतर्फ लैजाने परम्परा छ। बिस्का जात्राको मुख्य आकर्षण नै रथ तानातान हो।

यसरी तानातान गर्ने क्रममा थनेतर्फ पहिला तानेर लानसके दत्तात्रयसम्म लैजाने र त्यहाँबाट तानेर पुनः तमारी हुँदै क्वनेतर्फको तेखापुखुसम्म ल्याएर त्यहाँबाट पनि फर्काएर रथ गःहिटीमा लगेपछि  पहिलो दिनको जात्रा सकिन्छ।

जात्रामा रथ तान्ने परम्परागत मार्ग क्वनेतर्फ तमारी, बुलुँचा, घट्खा, नासमना, मुलाखु, बंशगोपाल, तेखापुखुसम्म र थनेतर्फ क्वाछें, साकोठा, सुकुलढोका, गोल्मढी, स्वंगलों, दत्तात्रयसम्म रहेको छ। जात्राको दोस्रो दिन शून्य मानिन्छ भने तेस्रो दिन गःहिटीमा भैरवनाथलाई बली चढाएर गुठी संस्थानले सरकारका तर्फबाट पूजा गरिन्छ।

चौथो दिन बिहान तालाक्वस्थित कुमाले टोलमा ल्हामरु म्ह यसीं(हात नभएको लिङ्गो) ठड्याइन्छ र साँझपखः तान्त्रिक विधिपूर्वक दशकर्म विधान गरी ५५ हाते लिङ्गो ल्योसिङ ख्योमा उभ्याइन्छ। पुरानो वर्ष विदाइ र नयाँ वर्षको आगमनको पूर्वसन्ध्यामा लिङ्गो उभ्याउने गरिन्छ।

लिङ्गोमा झुण्ड्याइइने दुई ध्वजालाई वीरध्वजा र विश्वध्वजा भनिन्छ। एक जोडी ध्वजा फुकाएपछि एउटा संवत् फेरिने धार्मिक मान्यता छ। लिङ्गो उभ्याउन बाँधिएका आठ वटा डोरीलाई अष्टमातृकाको प्रतीक मानिन्छ। लिङ्गो उभ्याउने जात्रा सकिएपछि तलेजुमा दुमाजुको विशेष जात्रा र पूजा गरिन्छ। वैशाख १ गते मध्यरात नवदुर्गा देवगण लिङ्गो दर्शकका लागि आउने परम्परा छ।

बिस्का जात्रा तस्वीरमाः

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.