|

काठमाडौं : कैलालीको मोहन्याल गाउँपालिकाका कार्यबाहक अध्यक्ष पुजादेवी बुढामगर र वडाध्यक्षसहित १० जनाविरुद्ध भ्रष्टाचार मुद्‍दा दायर भएको छ। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले निर्माण सेवाका ठेकेदारबीचको मिलेमतोमा विभिन्न खोलाबाट नदीजन्य पदार्थको विक्रीमा भ्रष्टाचार भएको भन्दै अध्यक्ष मगरसहित ७ जना वडाध्यक्षको विरुद्धमा विषेश अदालत काठमाडौंमा आरोपपत्र दायर गरेको हो।

पालिकाका वडा १ का वडाध्यक्ष नविन पुन मगर, २ का देवीदत्त उपाध्यय, ३ का नन्दराम गिरी, ४ का टेक बहादुर बोगटी, ५ का छविलाल मगर ६ का टेकबहादुर बोगटी, र ७ का वडाध्यक्ष खरप्रसाद अधिकारी विरुद्ध अख्तियारले मुद्‍दा दायर गरेको हो।

गाउँ कार्यपालिकाका सदस्यहरु राधिका दमाई, तारा शर्मा र विशालकुमार पहराईविरुद्ध पनि अख्तियारले आरोपत्र दायर गरेको हो। उनीहरुबाट ५४ लाख १८ हजार ५६८ रुपैयाँ बिगो मागदाबी गरिएको छ।

यस्तै, न्यू वडिमालिका निर्माण सेवा र त्यसका सञ्चालक मकर बहादुर शाहले समेत रोयल्टीबापतको ५६ लाख ३४८ रुपैंया नबुझाई सार्वजनिक हानिनोक्सानी गरेको अख्तियारले जनाएको  छ। उनलाई पनि भ्रष्टाचार निवारण ऐन २०५९ को दफा ८ को उपदफा ४ बमोजिमको सजाय माग गरेको आयोगका प्रवक्ता श्यामप्रसाद भण्डारीले जानकारी दिनुभयो। यस्तै पालिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत गणेशदक्त ओझा र अध्यक्ष  नवलसिंह रावलसमेतको मिलेमतो देखिएको छ।

अख्तियारले अध्यक्ष रावलको मृत्यु भइसकेकोले उनको हक खाने अंशियारबाट बिगो ५४ लाख १८ हजार ५६८ रुपैँया असुलउपरको मागदाबी लिएको छ।

 यसअघि गत चैत ३० गते अख्तियारले कैलालीकै गोदावरी नगरपालिकामा सडक निर्माणको क्रममा भ्रष्टाचार भएको भन्दै तत्कालीन दुईजना प्रमुख प्रशासकीय अधिकृत, ईन्जिनियर, सब इन्जिनियरसहित ८ जना विरुद्ध भ्रष्टाचार मुद्‍दा दर्ता गरेको थियो।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.