|

काठमाडौँ : नेपाल राष्ट्रबैंकका कर्मचारीले गभर्नर महाप्रसाद अधिकारीमाथिको कारबाहीको विरोध गरेका छन्। आइतबार राष्ट्रबैंकका कर्मचारीले राष्ट्रबैंकमा कालो ब्यानर झुण्ड्याएका छन्।

मन्त्रिपरिषद्ले नेपाल राष्ट्रबैंकका गभर्नर अधिकारीलाई गरेको निलम्बनको विरोधस्वरूप नेपाल राष्ट्रबैंक कर्मचारी संघ केन्द्रीय समितिले बैंकको केन्द्रीय कार्यालय बालुवाटार परिसरमा कालो ब्यानर झुण्डाउँदै कोणसभाको आयोजना गरेको छ।

नेपाल राष्ट्र बैंकका देशभरका सम्पूर्ण कार्यालयमा एकैसाथ झुण्डाइएको कालो ब्यानरमा ‘केन्द्रीय बैंकको स्वायत्ततामाथिको नाङ्गो हस्तक्षेप बन्द गर’, ‘निराधार तथा कपोलकल्पित आरोपमा गभर्नर महाप्रसाद अधिकारमाथि शुरु गरिएको कारबाही प्रक्रिया अबिलम्ब फिर्ता गर’ र ‘संकटोन्मुख राष्ट्रिय अर्थतन्त्रको उद्धारका लागि तत्काल विशेष नीति तर्जुमा गरी कार्यान्वयन गर’ भन्ने नारा समावेश गरिएको छ।

कालो ब्यानर झुण्डाउनुअघि नेपाल राष्ट्रबैंकमा भएको कोणसभालाई सम्बोधन गर्दै नेपाल राष्ट्रबैंक कर्मचारी संघका अध्यक्ष रुद्रप्रसाद तिम्सिनाले राज्य सञ्चालकहरू माफियाहरूको चंगुलमा फसेपछि राष्ट्र बैंकको नेतृत्वमाथि आक्रमण हुने गरेको बताए।

राष्ट्रबैंकको नेतृत्वमाथि आक्रमण हुने गरेको स्मरण गर्दै अध्यक्ष तिम्सिनाले केन्द्रीय बैंकको नेतृत्वमाथि हुने गरेका आक्रमणका वेला नेपाल राष्ट्रबैंक कर्मचारी संघ केन्द्रीय बैंकको स्वायत्तताको रक्षाका लागि विरोधमा उत्रने गरेको चर्चा गरे।


गभर्नरहरू कल्याणविक्रम अधिकारी, तिलकबहादुर रावल र विजयनाथ भट्टराईलाई बर्खास्ती गरेको थियो। राष्ट्रबैंकका कर्मचारीले त्यसको विरोध गर्दै आएका छन्।

 

 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.