|

विराटनगर : आगामी स्थानीय निर्वाचनमा सत्तारुढ गठबन्धन र राप्रपाबीच तालमेल हुने भएको छ। वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनमा झापामा पाँचदलीय गठबन्धन र राजेन्द्र लिङ्देन नेतृत्वको राप्रपाबीच तालेमल हुने भएको हो।

कमल थापा नेतृत्वको राप्रपा नेपालले एमालेको चुनाव चिह्नबाट लड्ने गरी गठबन्धन गर्ने निर्णय गरेलगतै राजेन्द्र लिङ्देन नेतृत्वको राप्रपाले प्रदेश १ मा सत्ता गठबन्धनसँग तालेमलका लागि प्रस्ताव गरेको थियो।

झापामा मात्रै तालमेल गर्ने लगभग सहमति जुटेको गठबन्धनका एक नेताले बताए। तालमेल गर्दा दमकमा राप्रपालाई सघाउने र अरू पालिकामा राप्रपाले गठबन्धनका उम्मेदवारलाई सघाउने दाबी उनले गरे। राप्रपा प्रदेश १ अध्यक्ष राम थापाले आफूहरू गठबन्धनसँग आवश्यकताका आधारमा तालमेल गर्ने बताए।
 राप्रपाले थापालाई मेयरको उम्मेदवार घोषणा गरिसकेको छ।

२०७४ सालको स्थानीय तह निर्वाचनमा दमकमा एमालेका रोमनाथ ओली १० हजार ८ सय ६ मतसहित निर्वाचित हुँदा राप्रपाका उम्मेदवार राम थापाले ७ हजार ६ सय ५५ मत ल्याएका थिए। योसँगै ०७४ को चुनावमा राप्रपा दोस्रो बनेको थियो।

माओवादी केन्द्रका उम्मेदवार रेवतराज पुरीले ६ हजार ८ सय ९८ मत ल्याएका थिए। माओवादी तेस्रो बनेको थियो। स्थानीय तह निर्वाचनमा झापाको गौरीगञ्ज र हल्दीबारी गाउँपालिका अध्यक्ष राप्रपाले जितेको थियो भने कचनकवल गाउँपालिकामा अध्यक्ष र उपाध्यक्ष नै जितेको थियो।

आवश्यकताको आधारमा तालमेल गर्ने

कांग्रेस प्रदेश १ सभापति उद्धव थापाले आवश्यकताका आधारमा राप्रपासँग तालमेल गर्ने सहमति भएको बताए। नेकपा एकीकृत समाजवादी पार्टीको समन्वयमा शनिबार विराटनगरमा सत्ता गठबन्धनको प्रदेश १ स्तरीय बैठक बसेको थियो।

बैठकले गठबन्धनलाई थप मजबुत बनाएर लैजाने सहमति गरेको बैठकमा सहभागी नेकपा एकीकृत समाजवादी मोरङका प्रवक्ता ओसिम आलमले बताए।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.