|


काठमाडौं : स्थानीय तहको निर्वाचनका लागि मनोनयन दर्ता सकिएसँगै कतिपय स्थानमा भने उम्मेदवारहरू निर्विरोध भएका छन्।

मनोनयनमा एकल उम्मेदवारी परेपछि केही गाउँपालिका र वडाहरू निर्विरोध भएका हुन्।

केन्द्र तहमा गठबन्धन भनेर पनि तालमेल हुन नसक्दा केही स्थानीय तहका वडाहरूमा भने प्रमुख दलहरु नै मिलेर सर्वसम्मत रुपमा उम्मेदवारी दिएका छन्।

कर्णाली प्रदेशको डोल्पा जिल्लाका ३ वटा गाउँपालिकाका अध्यक्ष निर्विरोध भएका छन्। एकीकृत समाजवादीका तर्फबाट उम्मेदवारी दिएका दुई गाउँपालिका अध्यक्ष र एक गाउँपालिका उपाध्यक्षमा निर्विरोध भएका छन्।

उनीहरुको मात्र उम्मेदवारी परेपछि निर्विरोध भएका हुन्।

काइके गाउँपालिका अध्यक्ष अङ्गत राना र छार्का ताम्सोङ गाउँपालिका अध्यक्ष सेनाङ गुरुङ निर्विरोध भएका समाजवादीका उपमहासचिव प्रकाश ज्वालाले  जानकारी दिए।

त्यस्तै, डोल्पो बुद्ध गाउँपालिकाका उपाध्यक्ष पनि निर्विरोध निर्वाचित भएका छन्।

यस्तै से फोक्सुन्डो गाउँपालिकामा नेकपा(एमाले) का तर्फबाट अध्यक्ष धावासम्डुक गुरुङको मात्र उम्मेदवारी परेपछि उनी निर्विरोध भएका एमाले प्रचार विभाग उपप्रमुख विष्णु रिजालले जानकारी दिए।

यही गाउँपालिकाको वडा नम्बर १,३,५,६,७ र ९ का वडाध्यक्षमा क्रमशः जिक्मेछोइङ लामा,पेमागिर्मे गुरुङ,कार्मातार्के गुरुङ,रिग्जिन गुरुङ,पेमाछिरिङ गुरुङ र सार्के लामासहित अन्य सदस्यहरु निर्विरोध भएका छन्।

हुम्ला, ताप्लेजुङ र मनाङका केही वडामा एकल उम्मेदवारी दर्ता भएको छ।

हुम्लाको उत्तरी नाम्खा गाउँपालिकाको वडा नम्बर ६ लिमीमा वडा अध्यक्षसहित ४ जनाको मात्र उम्मेदवारी परेको छ।

वडाध्यक्षमा पाल्जोर तामाङ, महिला सदस्यमा जाङकी फुटी तामाङ र सदस्यमा हल्जीका छिरिङ तोन्डुप र  तिलका तोन्डुप लामाले मनोनयन दर्ता गराएका हुन्।

यस्तै मनाङको नेस्याङ गाउँपालिका वडा नम्बर ९ को अध्यक्षमा एक जना र चार सदस्यका लागि चार जनाको मात्रै उम्मेदवारी दर्ता भएको छ।

वडा अध्यक्ष माओवादीका चोल्पा गुरुङ, वडा सदस्यमा कांग्रेसका अनिल गुरुङ र एमालेका धनबहादुर गुरुङ सहित महिला सदस्यमा रिया गुरुङ र दलित महिला सदस्यमा सुस्मिता सेन्चुरीको मात्र उम्मेदवारी परेको छ।

निर्विरोध भएपनि विजेता घोषणा हुन बैशाख ३० सम्म कुर्नुपर्ने भएको छ।

ताप्लेजुङको फत्तालुङ गाउँपालिका वडा नम्बर ७ मा पर्ने चीनको सीमावर्ति क्षेत्र ओलाङचुङगोलामा पनि सर्वसम्मत रुपमा जनप्रतिनिधि चुनिएका छन्।

गाउँमा एमाले र कांग्रेस दुवै पक्षले उम्मेदवारी दिने तयारी गरेपनि पार्टीगत रूपमा जनतालाई विभाजित नगर्ने भन्दै उनीहरूले बाँडेर सर्वसम्मतिमा उम्मेदवारी दर्ता गरेका हुन्।

वडाध्यक्षमा छेतेन शेर्पा, सदस्यहरूमा टासी शेर्पा र वाङ्ग्या शेर्पा तथा महिला सदस्यमा फुपुल्हामु श्रेष्ठ र दलित महिला सदस्यमा विपना तुम्बाहम्फे विकको मात्र उम्मेदवारी दर्ता भएको हो। 


 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.