|

काठमाडाैं : मेडिकल साइन्सको पढाइ नेपालमै व्यवस्थित र स्तरीय बनाउने विषयमा शिक्षा मन्त्रालयले छलफल चलाएको छ।

मंगलबार चिकित्सा शिक्षा, त्रिभुवन शिक्षण अस्पताल, काठमाडौं विश्वविद्यालय, पूर्वाञ्चल विश्वविद्यालय, संस्कृत विश्वविद्यालयलगायतका पदाधिकारीसँगको छलफलमा शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री देवेन्द्र पौडेलले मेडिकल साइन्सको पढाई नेपालमै व्यवस्थित र स्तरीय बनाउने विषयमा छलफल गरेका हुन्।

मेडिकल शिक्षा आर्जनका लागि वर्षेनी ९८ अर्ब रुपैयाँ रकम देश बाहिर गइरहेको बताउँदै नेपालमै व्यवस्थित र स्तरीय बनाउनुपर्नेमा मन्त्री पौडेलले जोड दिए।

‘देशमा मेडिकल शिक्षा पढ्ने विद्यार्थीको आकर्षण बढ्दाे छ’, मन्त्री पौडेलले भने, ‘देश बाहिर पढ्न गएकाहरु नेपालमा आएर परीक्षा दिई डाक्टर बनिरहेका छन्। उनीहरुलाई नेपालमै पढ्ने र परीक्षा दिने व्यवस्था गरौँ।’

देशमा पढ्ने व्यवस्था मिलाएर शिक्षा प्राप्तिका लागि बाहिरिने रकम नेपालमै रहनेमा उनको जोड रहेको छ।

मन्त्री पौडेलले कागजमा दक्ष जनशक्ति पर्याप्त देखिएपनि फिल्डमा नभएको गुनासो व्यक्त गरे।

‘अवसरमा प्रतिस्पर्धा गर्ने दायरा बढाई क्वालिटीको शिक्षामा ध्यान दियौँ भने मात्रै उत्पादित जनशक्ति बेरोजगार बस्नुपर्दैन’ मन्त्री पौडेलले भने। ‘शिक्षालाई नियमन गरौँ भन्दा हामी खुम्चिएका छौँ, उनले भने,‘केही ऐन र कानुनको जटिलताले गर्दा सीमित बाहेकले देशमा पढ्न पाउने अवसर गुमाइरहेका छन्।’

छलफलमा मेडिकल क्षेत्रमा बजेट कम हुँदा धेरै समस्या आएको बताउँदै बजेट बढाउन अर्थ ​मन्त्रीलाई आग्रह गरेका थिए। 


 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.