|

पर्वत : स्थानीय तहको प्रमुख बन्नका लागि उम्मेदवार बन्नेहरूको भिडमा पनि पोखरा र काठमाडौं महानगरपालिकाले नागरिकको ध्यान फरक तरिकाले तानिरहेका छन्। अस्तित्वमा रहेका राजनीतिक दलहरूले नागरिकको अपेक्षा अनुसारका काम गर्न नसकेको भन्दै पोखरामा सुरु भयो ‘अटेरी अभियान’।

‘निधारमा पर्यटन, आँखामा शिक्षा र स्वास्थ्य, नाकमा सुशासन’ को नारा लिएको अटेरी अभियानले यसको व्याख्या गर्दै निधार अर्थात् भाग्य निर्माणमा दिगो पर्यटन, आँखा अर्थात् अर्जुन दृष्टिमा शिक्षा र स्वास्थ्य तथा नाक अर्थात् पहिचानमा सुशासनको कुरालाई लिएर चुनावी मैदानमा होमिएको छ। राजनीतिक दलहरूले जनतालाई आश्वासन मात्रै दिएको र तथा नागरिकहरू उनीहरूको आज्ञापालक जस्तै मात्र बनेको बेलामा अटेरी अभियानले यसैको विरोध गरिरहेको छ।

 

​जनतालाई चाहिएको विकास नदिने तर भ्यूटावर, स्वागतद्वार, अपारदर्शी अनुदान, सम्भव नहुने पराकाल्पनिक योजना सुनाएर कथित ‘सपना’ को रङ दिने गरेको राजनीतिक चरित्र लगायतका कुराको विकल्पको रूपमा आफूहरू आएको अभियानका जन्मदाता तथा पोखरा महानगरपालिकाको प्रमुखका उम्मेदवार गनेश पौडेल बताउँछन्।

राजनीतिक दलको विकल्प नभएका कारण जसरी पनि उनीहरूकै पछि लाग्नुपर्ने बाध्यता रहेको अवस्थामा उदाएको अटेरी अभियानले नागरिकको ध्यान तानिरहेको आफूहरू पारदर्शी रूपमा काम गर्ने र पोखरा महानगरमा गर्न सकिने सम्भव मुद्दामा केन्द्रित भएका कारण पनि नागरिकको ध्यान तानिएको उनको भनाई छ।

 शिक्षा, स्वास्थ्य, अतिक्रमण, सुकुम्वासी समस्या, अनियन्त्रित बसोबास, खुल्ला ठाउँको अभाव, दुर्व्यसन, घरजग्गा कर, पहिचान वितरण, पर्यटन, सडक तथा यातायात, संरक्षण, सामाजिक एकता, आम्दानी, उपभोक्ता अधिकार, सुरक्षा, प्रेम गर्ने ठाउँ लगायतका मुद्दामा आफूहरूको योजना रहेको पौडेलले बताए।

‘पारदर्शिताका लागि मेरो पोखरा मोबाइल एप, अनियमितता माथि शून्य सहनशीलता, वैज्ञानिक कर प्रणाली, सबैको पोखरा, सहरी सुरक्षा, अधिकार सम्पन्न टोल विकास समिति, पर्यावरणीय सुरक्षा, महिलामुखी कार्यक्रम पनि हाम्रा उद्देश्य हुन्’, गनेशले भने, ‘बाजे बज्यैको पोखरा, शिशु स्याहार केन्द्र, बन्द रहित सहर, २४ सै घण्टा खुल्ला बजार, कौसी खेती सहित पोखरालाई देशकै उत्कृष्ट शैक्षिक गन्तव्यका रूपमा विकास गर्ने हाम्रो कार्ययोजना छ।’

पोखरामा ‘अटेरी अभियान’ ले ध्यान तानेको बेलामा काठमाडौँ भने नगरप्रमुख बन्नका लागि र्यापर बालेन शाहले उम्मेदवारी दर्ता गराएका छन्। नेपहपमा रमिरहेको कलाकार एकाएक राजनीतिमा प्रवेश गरेपछि उनले धेरैको ध्यान तानेका छन्। बालेनको पक्षमा कलाकारहरूले पनि साथ दिइरहेका छन्। सामाजिक सञ्जाल फेसबुकदेखि टिकटसम्म र्याप गीतमै भोट मागिएका दृश्यहरू भाइरल छन्।

स्वतन्त्र उम्मेदवारका चुनावमा होमिएका बालेनले जन्म दर्ता, विवाह दर्ता जस्ता कागजातहरू र वृद्ध भत्ताको ‘होम डेलिभरी’, पूर्वाधार, स्वास्थ्य, पशु एम्बुलेन्स, फायर ब्रिगेड, प्रकोप व्यवस्थापन, मानसिक स्वास्थ्य, घरेलु हिंसा, बाल दुर्व्यवहारहरूका लागि कल सेन्टर, भ्रष्टाचार विरुद्ध विशेष फोर्स, सबै कार्यालयमा सिसिटिभी, रोजगारी, उद्यमशीलता प्रवर्द्धनको लागि आइडिया ब्याङ्क, हरेक मार्टमा स्थानीय उत्पादनलाई २० प्रतिशत ठाउँ, युवाहरूको लागि करियर परामर्श र कोचिङ , बिजनेस सुरु गर्न सिड मनी, राष्ट्रिय आविष्कार केन्द्रको शाखा बालेनका घोषणा हुन्।

सबै खालको कर तिर्न र प्रमाणपत्र लिन अनलाइन प्रणाली लागू गर्ने, करको दायरामा आउने सबैको स्वास्थ्य बिमा,  निजी विद्यालय मासिक शुल्क बमोजिम गुणस्तरीय शिक्षा छ वा छैन अडिट गरिने, ७० वर्ष माथिका वृद्ध वृद्धाको निःशुल्क स्वास्थ्य परीक्षण घरघरमै गरिने, सबै वडा र टोल स्तरमा सार्वजनिक शौचालय स्थापना गरिने, हेल्थ पोस्टहरूको स्तरोन्नति, बस स्टपहरूमा फल्चा स्थापना, सुरक्षाका लागि सबै सार्वजनिक यातायातमा सिसिटिभी जडान अनिवार्य, महानगरको सबै मिटिङको लाइभ टेलिकास्ट, फुटपाथ व्यवसायको समय तालिका निर्धारण, काठमाडौँ महानगरपालिकाको आफ्नै ट्याक्सी एप सञ्चालनलाई पनि घोषणापत्रमा राखिएको छ।

यसै गरी सबै ढुंगेधारा हिटी पुनः जागृत गराउनका लागि पुराना स्रोतहरूलाई पुनर्जीवित गराइने, अन्तर्राष्ट्रिय स्तरमा कुकुर तिहार र म्ह पूजाको ब्रान्डिङ गरिने, अर्ग्यानिक फोहोरको रूपान्तरणबाट नजिकको कृषि प्रदान नगरपालिकाहरूमा जैविक मल उपलब्ध गराइने, एक घर एक रुख अभियान सुचारु गरिने कुरा पनि उनको लक्ष्यमा राखिएका छन्।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.