|

बागलुङ : नेपाल कम्युनिष्ट पार्टी (एमाले) र राष्ट्रिय प्रजातन्त्र पार्टीले संयुक्त घोषणापत्र सार्वजनिक गरेका छन्। स्थानीय तह निर्वाचनमा चुनावी तालमेल गरेर अगाडि बढेका एमाले र राप्रपाले घोषणा पत्रमा ‘समृद्ध बागलुङ नगर–सुखी नगरवासी’ नगरको आकांक्षा पूरा गर्नको लागि आगामी ५ वर्षमा बागलुङ नगरपालिकालाई पर्यटकीय, व्यापारिक एंव सांस्कृतिक नगरको रुपमा विकास गर्ने प्रतिवद्धता जनाएको छ।

स्थानीय तह निर्वाचन २०७४ मा पनि एकसाथ निर्वाचनमा गएका एमाले राप्रपाले तालमेलको आधारमा उम्मेदवार उठाएका थिए। संयुक्त रुपमा मेयरको उम्मेदवार बनेका नेकपा एमालेका जनकराज पौडेल पुनः मेयरको उम्मेदवार बनेका छन्।

स्थानीय तह निर्वाचन २०७४ मा राप्रपाले उपमेयरमा सुरेन्द्र खड्कालाई उम्मेदवार बनाएको थियो भने, अहिले राप्रपाको तर्फबाट सञ्जय खड्का उपमेयरको उम्मेदवार बनेका छन्।

मेयरका उम्मेदवार जनकराज पौडेल, उपमेयरका उम्मेदवार सञ्जय खड्का, नेकपा एमालेका पोलिट व्यूरो सदस्य मनकुमारी केसी, नेकपा एमालेका केन्द्रीय सदस्य तथा बागलुङ इन्चार्ज गोविन्द नेपालीले संयुक्त रुपमा सार्वजनिक गरेको घोषणा पत्रमा बागलुङ नगरपालिकामा एकीकृत शहरी विकास योजना लागू गरिने, नगरपालिकाको केन्द्रदेखि वडाको केन्द्रसम्म जोड्न सुरु गरिएका सडकका योजना पूरा गरिने, बालबालिकाको लागि निर्माण सुरु गरिएको बालउद्यानलाई पूर्णता दिइने, बालबालिकाको शिक्षा, स्वास्थ्यलाई ध्यानमा राखेर चाइल्ड क्येर सेन्टर स्थापना गरिने उल्लेख छ।

औद्योगिक ग्राम सञ्चालनमा ल्याइने, काठेखोलामा जलविहार परियोजना सञ्चालनमा ल्याइने, जनमैत्री स्वास्थ्य निती अबलम्बन गरिने, धौलागिरी उप–प्रादेशिक अस्पताललाई मेडिकल कलेजको रुपमा स्तरोन्नती गर्न पहल गरिने, गम्भीर प्रकृतिका रोगहरु (मुटु, मिर्गौला, क्यान्सर, पाठेघर) को उपचार नगरबाटै गर्ने व्यवस्था गरिने, विपन्न नागरिकको उपचार निशुल्क गर्ने व्यवस्था मिलाइने, ५० वर्षभन्दा माथिका नागरिकको वर्षमा एक पटक निशुल्क स्वास्थ्य परीक्षण गरिने घोषणापत्रमा उल्लेख गरिएको छ।

घोषणा पत्रमा शिक्षा, सूचना र सञ्चारतर्फ व्यवसायिक, व्यवहारिक, रोजगारमूलक, प्रयोगात्मक, प्राविधिक शिक्षाको आधार तयार गरि लागु गरिने, आगामी ५ वर्षभित्र प्राविधिक धारतर्फको क्याम्पस स्थापनाको विषेश तयारी गरिने उल्लेख गरिएको छ।

एमाले राप्रपाले आगामी ५ वर्षभित्र बागलुङ नगरपालिकामा गर्ने कामलाई पूर्वाधार, स्वास्थ्य, सरसफाई तथा खानेपानी, शिक्षा, सूचना तथा सञ्चार युवा तथा खेलकुदतर्फ, पर्यटन, कृषि, सुशासन, सूचना तथा सञ्चार, विविधता लगाएतका शीर्षकमा छुट्टा छुट्टै प्रतिवद्धता व्यक्त गरेको छ।

घोषणा पत्रमा ‘अन्याय र उत्पीडनको विरुद्ध हाम्रो अभियान, आवाजविहीनको आवाजलाई गर्छौं सम्मान’ भन्ने मूल नाराको साथ महिला हिंसा, छुवाछुत जन्य विभेद र सामाजिक विभेदलाई अन्त्य गर्ने गरी काम गर्ने उल्लेख गरिएको छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.