|

सल्यान : नेपाल सरकारले स्वास्थ्य संस्थामा सुरक्षित सुत्केरी गराउन विभिन्न कार्यक्रम गरेपनि सल्यानमा अझै पनि असुरक्षित तरिकाले सुत्केरी हुनेको संख्यामा कमी आउन सकेको छैन।

स्वास्थ्य संस्थामा सुत्केरी गराउन विभिन्न प्रोत्साहनका कार्यक्रम ल्याए पनि चेतनाको कमी, भौगोलिक विकटता लगायतका कारण असुरक्षित तरिकाले घरमै सुत्केरी हुँदै आइरहेका छन्।

स्वास्थ्य सेवा कार्यालय सल्यानका अनुसार जिल्लामा संस्थागत प्रसूति दर ६८ प्रतिशत रहेको छ। गत आर्थिक वर्षमा ४ सय ९६ महिला घरमै सुत्केरी भएका थिए।

आर्थिक वर्ष २०७५/०७६ मा एक हजार र आ.व. २०७६/०७७ मा ६ सय ५५ महिला घरमै सुत्केरी भएका थिए। घरमै असुरक्षित सुत्केरी हुँदा दुई वर्षमा ३ महिलाको ज्यान गएको स्वास्थ्य सेवा कार्यालय सल्यानका सूचना अधिकारी थलराज डिसीले जानकारी दिए।

कार्यालयका अनुसार गत वर्ष मात्र स्वास्थ्य संस्था र बर्थिङ्ग सेन्टरमा सुत्केरी भएका महिला ३७ मृत शिशु जन्माएका थिए।

गत वर्ष जिल्ला भर ४ हजार ६८ महिला सुत्केरी भएका थिए भने चालु आर्थिक वर्षको हालसम्म २ हजार ८६ महिला सुरक्षित तरिकाले सुत्केरी भएका छन्।

पर्याप्त मात्रामा  बर्थिङ्ग सेन्टर नहुनु, केही बर्थिङ्ग सेन्टरसम्म आउने सडक नहुनु, गाउँमा युवा कम हुँदा गर्भवतीलाई स्वस्थ्य संस्थासँग लैजान नसक्नु लगायतका कारण घरमै सुत्केरी हुने महिलाको संख्यामा कमी आउन नसकेको बनगाड कुपिण्डे नगरपालिकाका स्वास्थ्य शाखा संयोजक बासुदेव पोखरेलले बताए।

जिल्लामा सुरक्षित मातृत्व तथा सुत्केरी सम्बन्धी जनचेतना कार्यक्रम गरे पनि दुर्गम गाउँमा अझै पनि स्वास्थ्य संस्थामा सुत्केरी गराउनु पर्छ भन्ने चेतना नहुँदा समस्या भएको स्वास्थ्य सेवा कार्यालयका सूचना अधिकारी डिसीले बताए।

घरमै सुत्केरी हुँदा आमा र बच्चा दुवैको ज्यान जोखिममा पर्ने उनको भनाई छ।  

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.