|

काठमाडौं : नेपाल विद्युत् प्राधिकरणले विस्तारै विद्युत् आयात घटाउँदै लगेको छ।

पछिल्लो साता  मुलुकभर वर्षा वृद्धिसँगै खोलानालामा जलप्रवाह बढ्न थालेपछि नेपालमा विद्युत् उत्पादन वृद्धि भएको छ। जसका कारण आयात पनि कम गरिएको प्राधिकरणका प्रवक्ता सुरेशकुमार भट्टराईले थाहा खबरलाई जानकारी दिए। 

उनका अनुसार हाल नेपालमा दैनिक करिब २९ हजार मेगावाट प्रतिघण्टा विद्युत् उत्पादन भइरहेको छ। नियमित पानी पर्न थालेपछि आन्तरिक उत्पादनमा सुधार आएको हो।

३३ हजार मेगावट प्रतिघण्टा माग धान्नका लागि ४ हजार मेगावाट प्रतिघण्टा भारतबाट आयात गरिएको प्रवक्ता भट्टराईले जानकारी दिए। 

सुक्खा याममा दैनिक १२ हजार मेगावाट प्रतिघण्टासम्म विद्युत् आयात गर्दै आएकामा पछिल्लो समय ४ हजार मेगावाट प्रतिघण्टामा सीमित भएको प्राधिकरणले जनाएको छ। गत फागुनमा आन्तरिक उत्पादन कम र माग धेरै हुने अवस्था आएपछि प्राधिकरणले भारतबाट दैनिक १२ हजार मेगावाट प्रतिघण्टासम्म विद्युत् आयात गर्ने गरेको थियो। 

अब नियमित वर्षा भइरहेको अवस्थामा १५ दिनपछिबाट मुलुकै उत्पादनले माग धान्न सकिने प्राधिकरणको अनुमान छ। त्यसपछि भारतबाट विद्युत् आयात रोकिने प्रवक्ता भट्टराईको भनाइ छ।

मुलुककै उत्पादन मागभन्दा बढी भए नेपालले भारतलाई विद्युत् विक्री गर्ने र माग धान्न नसक्ने सुक्खा याममा भारतबाट नेपालले किन्ने यसअघि नै सम्झौता भइसकेको छ।  

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.