प्रदेशमा नेपाली कांग्रेस ठूलो पार्टी, नेकपा एमाले दोस्रो

|

धनगढी : सुदूरपश्चिममा नवनिर्वाचित जनप्रतिनिधिले पदभार ग्रहण गरिसकेका छन्। प्रदेशका ८८ मध्ये ८७ वटा स्थानीय तहका जनप्रतिनिधिले पदभार ग्रहण गरिसकेका छन्।

प्रदेशको बाजुराको बूढीनन्दा नगरपालिकामा भने निर्वाचन आयोगले पुनः मतदान गर्ने निर्णय गरेको छ। विवादका कारण मतगणना सुरु हुन नसकेपछि आयोगले यो पालिकामा पुनः मतदान गर्ने निर्णय गरेको हो।

स्थानीय निर्वाचन सकिएसँगै दलहरू जिल्ला समन्वय समिति (जिसस) गठन गर्न अग्रसर भएका छन्। यसपालिको स्थानीय निर्वाचनपछि सुदूरपश्चिममा पहिलो पार्टी नेपाली कांग्रेस बनेको छ। पहिलो पार्टी बनेसँगै कांग्रेसले जिल्ला समन्वय समितिमा पनि आफ्नो पकड बनाउने देखिएको छ।

कञ्चनपुर, डडेल्धुरा, डोटीमा कांग्रेसको एकलौटी ढंगले जिल्ला समन्वय बन्ने भएको छ। सुदूरपश्चिमका ९ वटै जिल्लामा जिल्ला समन्वय समितिमा गठन हुनेछन्। जिल्लामा रहेका स्थानीय तहका प्रमुख/अध्यक्ष र उपप्रमुख/उपाध्यक्षले जिल्ला समन्वय समितिका उम्मेदवारलाई मतदान गर्न पाउने व्यवस्था छ।

कुन जिल्लामा कुन पार्टीको पकड?

कैलाली

कैलालीमा १३ वटा स्थानीय तह छन्। जिल्ला समन्वय समितिमा मतदान गर्न पाउने मतभार २६ हो। यहाँ एक्लै समन्वय समिति गठन गर्ने गरी कुनै पनि पार्टीले स्थानीय तह जितेको छैन।

कांग्रेसले कैलारी गाउँपालिका अध्यक्ष, उपाध्यक्ष, गोदावरी नगरपालिका प्रमुख, गौरीगंगा नगरपालिका उपप्रमुख, घोडाघोडी नगरपालिका उपप्रमुख, चुरे गाउँपालिका उपाध्यक्ष, मोहन्याल गाउँपालिका उपाध्यक्ष र लम्की चुहा नगरपालिका प्रमुख जितेको छ। कांग्रेसको मतभार ८ रहेको छ।

एमालेले गोदावरी नगरपालिका उपप्रमुख, चुरे गाउँपालिका प्रमुख, धनगढी उपमहानगरपालिका उपप्रमुख, बर्दगोरिया गाउँपालिका अध्यक्ष र लम्कीचुहा नगरपालिका उपप्रमुख जितेको छ। उसको मतभार ५ रहेको छ।

नेकपा माओवादी केन्द्रले गौरीगंगा नगरपालिका प्रमुख, टीकापुर नगरपालिका उपप्रमुख, बर्दगोरिया गाउँपालिका उपाध्यक्ष र मोहन्याल गाउँपालिका अध्यक्ष जितेको छ। उसको मतभार ४ छ।  एकीकृत समाजवादीले घोडाघोडी नगरपालिकाको प्रमुख मात्रै जितेकाले उसको मतभार १ रहेको छ।

नागरिक उन्मुक्ति पार्टीले जानकी गाउँपालिका अध्यक्ष/उपाध्यक्ष, जोशीपुर गाउँपालिका अध्यक्ष/उपाध्यक्ष, टीकापुर नगरपालिका प्रमुख र भजनी नगरपालिकाको प्रमुख/उपप्रमुख जितेको छ। उसको मतभार ७ रहेको छ। धनगढी उपमहानगरपालिकाको प्रमुख जितेका स्वतन्त्र उम्मेदवारको मतभार १ रहेको छ। यहाँ गठबन्धन दलले सहमति गरे पनि जिल्ला समन्वय समिति बनाउने स्थिति देखिएको छैन।

स्वतन्त्र उम्मेदवारको सहयोग भएमा मात्रै उनीहरूले समन्वय समिति बनाउन सक्नेछन्। एमाले र नागरिक उन्मुक्ति पार्टी मिल्दा पनि समन्वय समिति बनाउन सक्ने स्थिति देखिएको छैन। यहाँ सबै दलले सहमति गरेर मात्रै समिति बनाउन सक्ने देखिएको छ।

कञ्चनपुर

कञ्चनपुरका ९ स्थानीय तहमा जिल्ला समन्वय समितिका लागि आवश्यक मतभार संख्या १८ हो। यहाँ कांग्रेस एक्लैले बहुमत ल्याएकाले सहजै जिल्ला समन्वय समिति गठन गर्न सक्नेछ। कांग्रेसले भीमदत्त नगरपालिकाको प्रमुख/उपप्रमुख, वेदकोट नगरपालिकाको प्रमुख/उपप्रमुख, कृष्णपुर नगरपालिकाको प्रमुख/उपप्रमुख, पुनर्वास नगरपालिकाको प्रमुख/उपप्रमुख तथा बेलडाँडी गाउँपालिकाको अध्यक्ष/उपाध्यक्ष जितेको छ। उसले शुक्लाफाँटा, दोधाराचाँदनी नगरपालिकामा उपप्रमुख जितेको छ। यसरी कांग्रेसको एक्लै १२ मतभार रहेको छ।

एमालेले शुक्लाफाँटा नगरपालिका प्रमुख, दोधाराचाँदनी नगरपालिका प्रमुख, बेलौरी नगरपालिका उपप्रमुख र लालझाडी गाउँपालिकाको अध्यक्ष/उपाध्यक्ष जितेको छ। एमालेसँग ५ मतभार रहेको छ भने बेलौरी नगरपालिकाको प्रमुख मात्रै जितेको माओवादी केन्द्रसँग १ मतभार रहेको छ।

बैतडी

बैतडीमा १० वटा स्थानीय तह छन्। यो जिल्लामा जिल्ला समन्वय समिति गठनका लागि मतभारको संख्या २० छ । बैतडीमा कुनै पनि दलले एक्लै जिल्ला समन्वय समिति गठनका लागि कुनै पनि दलको स्पष्ट बहुमत पुग्दैन। २० मतभार रहेको बैतडीमा एक्लै समन्वय समिति बनाउनका लागि कम्तिमा ११ मतभार आवश्यक हुन्छ।

बैतडीमा कांग्रेसको मतभार ९ छ। उसले डिलासैनी गाउँपालिका उपाध्यक्ष, दशरथ चन्द नगरपालिका उपप्रमुख, पाटन नगरपालिका प्रमुख, पुर्चौडी नगरपालिका प्रमुख/उपप्रमुख, मेलौली नगरपालिका उपप्रमुख, शिवनाथ गाउँपालिका अध्यक्ष, सिगास गाउँपालिका अध्यक्ष र सूर्नया गाउँपालिकामा उपाध्यक्ष जितेको छ।

एमालेको मतभार ८ रहेको छ। एमालेले दशरथचन्द नगरपालिका प्रमुख, दोगडाकेदार गाउँपालिका अध्यक्ष र उपाध्यक्ष, पञ्चेश्वर गाउँपालिका अध्यक्ष, उपाध्यक्ष, शिवनाथ गाउँपालिका उपाध्यक्ष, सिगास गाउँपालिका उपाध्यक्ष र सूर्नया गाउँपालिका अध्यक्ष जितेको छ।

माओवादी केन्द्रको मतभार २ रहेको छ। उसले पाटन नगरपालिका उपप्रमुख र मेलौली नगरपालिका प्रमुख जितेको छ। त्यहाँको डिलासैनी गाउँपालिकाको अध्यक्षमा स्वतन्त्र उम्मेदवारले जितेका छन्।

यहाँ कांग्रेस–एमाले मिले जिल्ला समन्वय समिति गठन हुनेछ। यदि कांग्रेसले साथ नदिए एमालेले स्वतन्त्र र माओवादीको सहयोगमा जिसस गठन गर्ने सम्भावना छ।

दार्चुला

दार्चुलाका ९ वटा स्थानीय तहमा १८ मतभार रहेको छ। तर जिल्ला समन्वय समिति गठन गर्नका लागि कुनै पनि दलसँग बहुमत मतभार छैन। एमाले र नेकपा माओवादी केन्द्र मिले भने यहाँ समन्वय समिति बनाउन सक्ने देखिएको छ।

सबैभन्दा धेरै ५ स्थानीय तहमा प्रमुख/अध्यक्ष जितेको एमालेसँग पनि जिल्ला समन्वय समिति गठनका लागि बहुमत मतभार छैन। एमालेले दुहु गाउँपालिका अध्यक्ष, ब्यास गाउँपालिका अध्यक्ष, महाकाली नगरपालिका प्रमुख, उपप्रमुख, मालिकार्जुन अध्यक्ष, लेकम गाउँपालिका उपाध्यक्ष र शैल्यशिखर नगरपालिका प्रमुख उपप्रमुख जितेको छ। उससँग ८ वटा मतभार रहेको छ।

कांग्रेसले अपिहिमाल उपाध्यक्ष, दुहु गाउँपालिका उपाध्यक्ष, नौगाड उपाध्यक्ष र मार्मा उपाध्यक्ष जितेको छ। उसको ४ मतभार रहेको छ। माओवादी केन्द्रले अपिहिमाल गाउँपालिका अध्यक्ष, नौगाड गाउँपालिका अध्यक्ष, ब्यास गाउँपालिका उपाध्यक्ष, मार्मा गाउँपालिका अध्यक्ष, मालिकार्जुन गाउँपालिका उपाध्यक्ष र लेकम गाउँपालिका अध्यक्ष जितेको छ। उसको मतभार ६ रहेको छ।

कांग्रेस र माओवादी केन्द्रको १० मतभार रहेकाले चुनावमा तालमेल गरेअनुसार उनीहरूले जिल्ला समन्वय समितिको गठनमा पनि सहमति गरेर गठन गर्न सक्ने देखिएको छ।

डडेल्धुरा

डडेल्धुराका ७ स्थानीय तहमा १४ मतभार रहेको छ। कांग्रेससँग एक्लै डडेल्धुरामा जिल्ला समन्वय समिति गठन गर्न सक्ने मतभार छ। ऊसँग १० मतभार रहेको छ। कांग्रेसले डडेल्धुरामा अजमेरु गाउँपालिका उपाध्यक्ष, अमरगढी नगरपालिका प्रमुख/उपप्रमुख, गन्यापधुरा गाउँपालिका अध्यक्ष/उपाध्यक्ष, नवदुर्गा गाउँपालिका अध्यक्ष/उपाध्यक्ष, परशुराम नगरपालिका प्रमुख र भागेश्वर गाउँपालिका अध्यक्ष/उपाध्यक्ष जितेको छ।

यहाँ नेकपा माओवादी केन्द्रको मतभार ४ रहेको छ। उसले अजयमेरु गाउँपालिका अध्यक्ष, आलिताल गाउँपालिका अध्यक्ष/उपाध्यक्ष र परशुराम नगरपालिका  उपप्रमुख जितेको छ।

बाजुरा

बाजुरामा ९ वटा स्थानीय तह छन्। यहाँ स्थानीय तहको मतभार संख्या १८ रहेको छ। बाजुरामा बूढीगंगा नगरपालिकामा पुनः मतदान गर्ने निर्णय गरिएको छ। बाँकी मत परिणाम सार्वजनिक भएका ८ मध्ये एमालेले ५ स्थानीय तहमा प्रमुख/अध्यक्ष र ४ स्थानीय तहमा उपप्रमुख/उपाध्यक्ष जितेको छ।

बूढीनन्दामा स्वतन्त्र उम्मेदवारले उपप्रमुख जितेका छन्। एमालेसँग ९ मतभार रहेको छ। एमालेले गौमुल गाउँपालिकाको अध्यक्ष/उपाध्यक्ष, खप्तड छेडदह गाउँपालिकामा अध्यक्ष, जगन्नाथ गाउँपालिकामा अध्यक्ष/उपाध्यक्ष, बडिमालिका नगरपालिकामा प्रमुख/उपप्रमुख, बूढीनन्दामा प्रमुख र हिमाली गाउँपालिकामा उपाध्यक्षमा जित हासिल गरेको छ।

कांग्रेसले भने खप्तड छेडदह गाउँपालिकाको उपाध्यक्ष, त्रिवेणी नगरपालिकाको प्रमुख/उपप्रमुख, स्वामी कार्तिक खापर गाउँपालिकाको अध्यक्ष/उपाध्यक्ष तथा हिमाली गाउँपालिकाको अध्यक्ष जितेको छ। कांग्रेसले जितेका स्थानीय तहअन्तर्गत मतभार ६ रहेको छ।

अहिलेसम्म सार्वजनिक भएको मत परिणाम अन्तर्गत एमालेले सबैभन्दा धेरै तह जितेकाले एक्लै उसले जिल्ला समन्वय समितिमा बहुमत पुर्‍याएको छ। बूढीगंगामा कांग्रेसले जिते पनि एमालेको अहिलेको मतभारभन्दा कम नै हुनेछ।

अछाम

अछामका १० वटा स्थानीय तहको मतभार संख्या २० छ। त्यहाँ कांग्रेसले ६ पालिकाको प्रमुख/अध्यक्ष र ४ स्थानीय तहमा उपप्रमुख/उपाध्यक्ष जितेको छ। उसको मतभार १० रहेको छ।

कांग्रेसले कमलबजार नगरपालिका प्रमुख, चौरपाटी गाउँपालिकाको अध्यक्ष/उपाध्यक्ष, ढकारी गाउँपालिकाको अध्यक्ष/उपाध्यक्ष, पञ्चदेवल विनायक नगरपालिकाको प्रमुख/उपप्रमुख, बान्नीगढी जयगढ गाउँपालिकाको अध्यक्ष, मेल्लेख गाउँपालिका उपाध्यक्ष र रामारोशन गाउँपालिकाको अध्यक्ष जितेको छ। उसले साँफेबगर नगरपालिका प्रमुख जितेको छ। कांग्रेसलाई एकल जिल्ला समन्वय समिति बनाउन बहुमत छ।

एमालेको मतभार भने ६ रहेको छ। एमालेले कमलबजार नगरपालिका उपप्रमुख, तुर्माखाँद गाउँपालिका अध्यक्ष र उपाध्यक्ष, बान्नीगढी जयगढ गाउँपालिका उपाध्यक्ष र मंगलसेन नगरपालिकाको प्रमुख र उपप्रमुख जितेको छ।

माओवादी केन्द्रसँग २ मत रहेको छ। उसले मेल्लेख गाउँपालिकाको प्रमुख र रामारोशन गाउँपालिकाको उपाध्यक्ष जितेको छ। साँफेबगर नगरमा उपप्रमुख भने नेकपा समाजवादीले जितेको छ।

बझाङ 

बझाङमा १२ वटा स्थानीय तह छन्। यहाँ स्थानीय तहको मतभार संख्या २४ छ। बझाङमा कांग्रेसले ६ वटा स्थानीय तहमा प्रमुख/अध्यक्ष र ५ वटामा उपप्रमुख/उपाध्यक्ष जितेको छ। उसको मतभार ११ छ।

कांग्रेसले केदारस्युँ गाउँपालिका उपाध्यक्ष, खप्तडछान्ना गाउँपालिका अध्यक्ष, जयपृथ्वी नगरपालिका प्रमुख, थलारा गाउँपालिका उपाध्यक्ष, दुर्गाथली गाउँपालिका उपाध्यक्ष, बुंगल नगरपालिका प्रमुख, मष्टा गाउँपालिका अध्यक्ष, बित्थडचिर गाउँपालिका अध्यक्ष/उपाध्यक्ष, सुर्मा गाउँपालिका अध्यक्ष/उपाध्यक्ष जितेको छ।

यहाँ एमालेले तीन स्थानीय तहमा प्रमुख/अध्यक्ष र दुईमा उपाध्यक्ष जितेको छ। एमालेको मतभार संख्या ५ मात्रै रहेको छ। एमालेले बझाङमा साइपाल गाउँपालिका अध्यक्ष/उपाध्यक्ष, तलकोट गाउँपालिका अध्यक्ष/उपाध्यक्ष र थलारा गाउँपालिकामा अध्यक्ष जितेको छ।

माओवादी केन्द्रले जिल्लामा दुई पालिकाकोमा प्रमुख/अध्यक्ष, तीनमा उपप्रमुख/उपाध्यक्ष जितेको छ। माओवादीले खप्तडछान्ना गाउँपालिका उपाध्यक्ष, छबिसपाथिभेरा गाउँपालिका अध्यक्ष, जयपृथ्वी नगरपालिका उपप्रमुख, दुर्गाथली गाउँपालिका अध्यक्ष र मष्टा गाउँपालिका उपाध्यक्ष जितेको छ। उसको मतभार ५ रहेको छ।

एकीकृत समाजवादीले केदारस्युँ गाउँपालिका अध्यक्ष, छबिसपाथिभेरा गाउँपालिका उपाध्यक्ष र बुंगल नगरपालिका उपप्रमुख जितेको छ । उसको मतभार संख्या ३ रहेको छ।

बझाङमा कुनै पनि दलले एक्लै जिल्ला समन्वय समिति गठन गर्नसक्ने मतभार छैन। त्यहाँ कांग्रेस, माओवादी केन्द्र र एकीकृत समाजवादी मिलेर जिल्ला समन्वय समिति गठन गर्नसक्ने देखिएको छ।

डोटी

डोटीमा ९ वटा स्थानीय तह छन्। यहाँ स्थानीय तहको मतभार संख्या १८ छ। डोटीमा कांग्रेसले ७ स्थानीय तहमा प्रमुख/अध्यक्ष तथा उपप्रमुख/उपाध्यक्ष जितेको छ। उसले एक स्थानीय तहमा उपाध्यक्ष जितेको छ। डोटीमा कांग्रेस एक्लैले जिल्ला समन्वय समिति गठन गर्न सक्ने बहुमत छ। कांग्रेससँग १५ मतभार रहेको छ।

एमालेसँग २ र माओवादी केन्द्रसँग १ मतभार मात्रै रहेको छ। डोटीमा कांग्रेसले आदर्श गाउँपालिका अध्यक्ष, उपाध्यक्ष, केआईसिंह गाउँपालिका अध्यक्ष/उपाध्यक्ष, दिपायल सिलगढी नगरपालिका प्रमुख/उपप्रमुख, पूर्वीचौकी गाउँपालिका अध्यक्ष/उपाध्यक्ष, बडीकेदार अध्यक्ष/उपाध्यक्ष, बोगटान फुड्सिल गाउँपालिका उपाध्यक्ष, शिखर नगरपालिका प्रमुख उपप्रमुख र सायल गाउँपालिका अध्यक्ष/उपाध्यक्ष जितेको छ।

एमालेले भने जोरायल गाउँपालिकाको अध्यक्ष/उपाध्यक्ष जितेको छ। माओवादी केन्द्रले बोगटान फुड्सिल गाउँपालिकाको अध्यक्ष मात्रै जितेको छ।

सुदूरपश्चिममा कांग्रेस ठूलो पार्टी, एमाले दोस्रो

कांग्रेस सुदूरपश्चिममा सबैभन्दा धेरै पालिका जित्दै ठूलो पार्टी बनेको छ। ९ वटा जिल्लाका ८८ वटा स्थानीय तहमध्ये नेपाली कांग्रेसले ३९ प्रमुख/अध्यक्ष जितेको छ। उसले ४७ पालिकामा उपप्रमुख/उपाध्यक्ष जितेर पहिलो पार्टी बनेको छ।

यसपटक यहाँ एमाले दोस्रो पार्टी बनेको छ। उसले २५ वटा स्थानीय तहमा प्रमुख/अध्यक्षमा जित हासिल गरेको छ। एमाले २४ स्थानीय तहमा उपप्रमुख/उपाध्यक्षमा जित निकालेको छ।

माओवादी केन्द्र १४ स्थानीय तहमा प्रमुख/अध्यक्ष जित्दै तेस्रो पार्टी बनेको छ। माओवादीले ११ पालिकामा उपप्रमुख/उपाध्यक्षमा जित हासिल गरेको छ। ४ महिनाअघि गठन भएको नागरिक उन्मुक्ति पार्टी चौथो शक्ति बनेको छ। उसले कैलालीमा मात्रै ४ वटा स्थानीय तहमा प्रमुख/अध्यक्षमा जित हासिल गरेको छ भने ३ वटामा उपप्रमुख/उपाध्यक्ष जितेको छ।

नेकपा एकीकृत समाजवादीले २ पालिकामा प्रमुख/अध्यक्ष जितेको छ भने उपप्रमुख र उपाध्यक्ष पनि २ स्थानमा जितेको छ। सुदूरपश्चिमको एकमात्र उपमहानगरपालिका धनगढीमा भने स्वतन्त्र उम्मेदवारले प्रमुख जितेका छन्। बैतडीको डिलासैनी गाउँपालिकामा पनि स्वतन्त्र उम्मेदवारले अध्यक्ष जितेका छन्।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.