|

काठमाडौं : हलिउड फिल्म पाइरेट्स अफ क्यारेबियन्सका चर्चित अभिनेता जोनी डेपले पूर्वपत्नी एम्बर हर्डविरुद्धको मानहानी मुद्दा जितेका छन्।

गत ६ सातादेखि लगातार चलिरहेको यी हलिउड स्टारहरूको मुद्दाले धेरैको ध्यान खिचेको थियो। सुनुवाइका क्रममा दुवैले एकअर्काप्रति शारीरिक तथा मानसिक दुर्व्यवहारका गम्भीर आरोप लगाएका थिए। दुवैका निजी जीवनका मसिना कुराहरू समेत मिडियामा छरपष्ट भएका थिए।

बुधबार अदालतले एम्बरले पूर्वपतिको मानहानी गरेको ठहर्‍याउँदै १५ मिलियन डलर भुक्तान गर्नुपर्ने फैसला सुनाएको छ। १५ मिलियनमध्ये १० मिलियन डलर डेपलाई क्षतिपूर्तिबापत र ५ मिलियन डलर जरिवानास्वरुप तिर्नुपर्ने फैसला सुनाइएको हो।

सुनुवाइका क्रममा रहेका तीनमध्ये दुईवटा मुद्दामा डेपले सफाइ पाए पनि तेस्रो मुद्दामा उनले समेत वकिलमार्फत एम्बरको मानहानी गरेको ठहर्‍याउँदै अदालतले अभिनेता डेपलाई पनि दुई मिलियन डलर भुक्तान गर्न आदेश दिएको छ।

सन् २०१५ मा विवाह गरेका यी दुईले सन् २०१७ मा सम्बन्धविच्छेद गरेका थिए। सम्बन्धविच्छेदको एक वर्षपछि पत्रिकामा लेख लेख्दै एम्बरले आफू घरेलु हिंसाको सिकार बनेको उल्लेख गरेपछि विवाद पुन: ब्युँतिएको थियो।

फैसलाबारे प्रतिक्रिया

फैसलाबारे प्रतिक्रिया दिँदै एम्बरले भनेकी छन्, ‘आफ्नो निराशालाई म शब्दमा बयान गर्न सक्दिनँ। मेरो मुटु छियाछिया भएको छ। मैले पेश गरेका पहाडजत्रा प्रमाण पनि डेपको शक्ति र प्रभावका अघि टिक्न सकेनन्। यो मुद्दाको नकारात्मक असर अन्य महिलाहरूमाथि पनि पर्नसक्ने भएकाले म निराश भएकी हुँ। महिला हिंसाविरुद्ध आवाज उठाउनेहरूका लागि यो एउटा धक्का हो।’

उता डेपले आफ्नो बयानमा भनेका छन्, ‘सुरुदेखि नै मेरो उद्देश्य भनेकै सत्यलाई उजागर गर्नु थियो, चाहे नतिजा जेसुकै होस्। सत्य मेटेर मेटिँदैन। अदालतले मलाई पूनर्जीवन दिएको छ।’

जुरीले फैसला सुनाउँदै गर्दा एम्बर कोर्टरुममा उपस्थित थिइन् भने डेप कन्सर्टका क्रममा देशबाहिर थिए।

भएको के थियो?

५८ वर्षीय जोनी डेपले आफ्नी पूर्वपत्नी तथा अभिनेत्री ३६ वर्षीया एम्बर हर्डविरुद्ध मानहानीको मुद्दा हालेका थिए। सन् २०१८ मा एम्बरले वासिङ्टन पोस्ट पत्रिकामा एक लेख लेखेकी थिइन्, जसमा उनले आफू घरेलु हिंसाको सिकार भएको उल्लेख गरेकी थिइन्। उक्त लेखमा कसैको नाम उल्लेख नभए पनि लेख छापिएपश्चात डेपको करियर चौपट भएको थियो। सम्झौता गरिसकिएका कतिपय प्रोजेक्टबाट उनलाई निकालिएको थियो।

डेपले उक्त लेखले आफ्नो मानहानी गरेको र करियरमाथि धक्का पुगेको भन्दै ५० मिलियन डलर क्षतिपूर्तिको माग राखि एम्बरविरुद्ध मुद्दा दायर गरेका थिए। बदलामा एम्बरले पनि १०० मिलियन डलरको माग राखी अर्को मुद्दा हालेकी थिइन्।

६ साता लामो सुनुवाईपछि अदालतले बुधबार फैसला दिएको हो। अदालतले एम्बरको लेख झुटो भएको र उक्त लेखबाट अभिनेता डेपको मानहानी भएको ठहर गरेको हो।

जोनी डेप र एम्बर हर्डको सम्बन्ध

यी दुईको भेट सन् २०११ मा हलिउड फिल्म ‘द रम डायरी’को सेटमा भएको थियो। फिल्म सुटिङको क्रममा एकअर्कासँग निकट बनेका यी दुईले सन् २०१५ मा विवाह गरेका थिए।

तर, उक्त सम्बन्ध १५ महिनाभन्दा टिक्न सकेन। एम्बरले पतिमाथि मारपिटको आरोप लगाउँदै डिभोर्सका लागि अदालत गुहारिन्। सम्बन्धविच्छेदका क्रममा डेपले एम्बरलाई सात मिलियन डलर भुक्तान गरे।

सन् २०१७ मै टुंगिइसकेको सम्बन्धबारे सन् २०१८ मा लेखमार्फत पुन: उछालेर एम्बरले आफ्नो मानहानी गरेको भन्दै अभिनेता डेप अदालत गएपछि यो विषय फेरि एकपटक चर्चामा आएको हो।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.