|

म्याग्दी : पश्चिम म्याग्दीको लाइफलाइन मानिएको बेनी–दरबाङ सडकखण्डअन्तर्गत बेनी–तातोपानी ९ किलोमिटर खण्ड कालोपत्र गरिएको छ। मङ्गला, मालिका र धौलागिरि गाउँपालिकालाई सदरमुकाम बेनीसँग जोड्ने जिल्लाको रणनीतिक महत्वको बेनी–दरबाङ सडकको बेनीदेखि तातोपानी खण्ड कालोपत्र भएको हो।

प्राकृतिक उपचारस्थ मानिने म्याग्दीको बेनी नगरपालिका–४ स्थित तातोपानी कुण्ड जोड्ने यो सडक कालोपत्र भएपछि यस भेगका दुई दर्जनभन्दा बढी गाउँका साथै छिमेकी जिल्ला बागलुङको पश्चिमी क्षेत्रका बासिन्दालाई सहज भएको छ। ट्र्याक खुलेको १५ वर्षपछि यो सडक कालोपत्र भएको हो।

पूर्वाधार विकास कार्यालय म्याग्दीका निमित्त प्रमुख गुरुदत्त अधिकारीले बेनी–तातोपानी खण्डको सडक कालोपत्र सकिएको जानकारी दिए। ‘पहिरोको समस्या र जग्गा विवाद भएको बाहेकका ठाउँमा कालोपत्र सकिएको छ, ११ मिटर फराकिलो सडकमा ७ मिटर चौडाइका दरले कालोपत्र गरिएको हो‚’ उनले भने। ९ किलोमिटर भने डिबिएसटी प्रविधिको कालोपत्र गरिएको उनले जानकारी दिए।

सडक विस्तार गरेर फराकिलो, नाली र पर्खाल निर्माण सकिएपछि प्राइम कोट, बिटुमिन र चिप्स राखेर दुई चरणमा कालोपत्र गर्नुअघि रोडा, गिट्टी, बालुवा, ढुङ्गा र माटोलाई सडकमा पेलेर लेभल मिलाइएको थियो।

सडक कालोपत्रे भएपछि यात्राअवधि छोट्टिएको छ। कच्ची सडक हुँदा बेनीदेखि तातोपानी पुग्न एक घण्टा लाग्ने गरेकोमा अहिले २० मिनेटमा पुग्न सकिने भएको यातायात व्यवसायीले बताएका छन्। ठेकेदार लामा–समानान्तरण निर्माण कम्पनीका आयोजना व्यवस्थापक राकेश सदाले गत चैतदेखि शुरु गरिएको कालोपत्रे करिब २ महिनामा सकिएको बताए ।

तातोपानीदेखि सिमसम्मको ३ किलोमिटर सडक विस्तार सकेर पर्खाल र नाली निर्माण अन्तिम चरणमा पुगेको जानकारी उनले दिए। विसं २०७४ असोज ४ गते ४५ करोड रूपैयाँमा ठेक्का सम्झौता भएको यो सडकमा पर्याप्त बजेट विनियोजन नहुने, निर्माण कम्पनीले उपकरण र मजदूर परिचालन गर्न नसक्दा ढिलाइ भएको हो।

तत्कालीन सडक डिभिजन कार्यालय बागलुङले ठेक्का लगाएको यो आयोजना २०७५ पुसमा प्रदेश सरकारलाई हस्तान्तरण गरेको थियो। जिल्लाको ‘लाइफ लाइन’ मानिने बेनी–दरवाङ सडकको २०६३ मा मार्ग खुलेको थियो। आयोजनाको दोस्रो चरणमा लाम्पाटादेखि दरवाङसम्म ८ किलोमिटर खण्ड सडक कालोपत्रे गर्न २२ करोड ५७ लाख ९३२ रूपैयाँमा २०७६ जेठ ३१ गते बिरुवा–क्याराभान जेभीले ठेक्का लिएको थियो।

पछिल्लो एक वर्षयता निर्माण कम्पनीले काम नगर्दा अलपत्र परेको यो सडकमा हिलो, धुलोको समस्याका साथै दुर्घटनाको जोखिम बढेको मङ्गला गाउँपालिका–२ बाबियाचौरका हरिकृष्ण पौडेलले बताए। यो खण्डको हालसम्म करिब ५० प्रतिशत मात्र भौतिक प्रगति छ। मंगला गाउँपालिकाको सिमदेखि लाम्पाटासम्मको साढे २ किलोमिटर सडक स्तरोन्नतिका लागि सम्झौता गरेका निर्माण कम्पनीले प्रारम्भिक चरणको काम थालेका छन्।

४ किलोमिटर सडक कालोपत्रे गर्न २०७८ पुस १८ गते ओमबुद्ध निर्माण सेवा वसुन्धराले १० करोड ७० लाख २१ हजार रूपैयाँमा ठेक्का सम्झौता गरेको थियो। ठेक्का सम्झौताको म्याद १८ महिनाको हो। सडकलाई ८ मिटर फराकिलो बनाएर, ७ मिटर चौडाइमा डिबिएसडी कालोपत्रे, नाली र पर्खाल निर्माण गर्न लागिएको हो।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.