​निर्णय नसच्चिय कडा आन्दोलनको चेतावनी

|

बारा : सर्वोच्चको निर्णय सच्याउन निजगढमा आन्दोलन चर्केको छ। अन्तरराष्ट्रिय विमानस्थल निर्माणमा रोक लगाउने सर्वोच्चको निर्णयविरुद्ध बाराको निजगढमा आन्दोलन चलिरहेको छ।

आन्दोलनको आज ११ औँ दिन हाे। निजगढ सार्वजनिक सरोकार समितिले दैनिक २/२ घण्टा गर्दै आएको आन्दोलनलाई आजदेखि बढाएर ४ घण्टा गरेको छ। आन्दोलनले महेन्द्र राजमार्ग भएर गुड्ने सयौँ गाडी अलपत्र परेका छन्।

दिउँसो २ बजेदेखि सुरु गरेको आन्दोलन साँझ ६ बजेसम्म गर्ने सरोकार समितिले जनाएको छ। स्वस्फूर्त रुपमा आज निजगढवासीले वृहत् मानव साङ्लो प्रदर्शन गरेका छन्। एक सातादेखि दैनिक एक घण्टा चक्काजाम गरेर प्रदर्शन गर्दै आएकोमा सर्वोच्चको निर्णय नसच्चिए कडा आन्दोलन गर्ने निजगढ सार्वजनिक सरोकार समितिका संयोजक एकबहादुर श्रेष्ठले चेतावनी दिएका छन्।

सरोकार समितिको अगुवाईमा गरिएको मानव साङ्लो प्रदर्शनमा निजगढका स्थानीयसँगै विभिन्न विद्यालयका विद्यार्थीको बाक्लो उपस्थिति रहेको छ। सर्वोच्च अदालतले वातावरण संरक्षणको नाममा विकासका काममा रोक लगाएर देशलाई नै अँध्यारोमा राख्न खोजेको आन्दाेलनमा सहभागी ७० वर्षीय पदमकुमारी मैनाली बताउँछिन्।

आन्दोलनमा बच्चादेखि वृद्धको समेतकाे उपस्थिति रहेको छ। पढे लेखेर विदेशिनुभन्दा देशमै रोजगारी भयो भने सजिलो हुने हिसाबले भोलिको भविष्य साेचेर आएकाे आन्दोलनमा सहभागी विद्यार्थी सारिका पौडेलले बताईन्।

सर्वोच्चको निर्णयपछि जारी आन्दोलनले सर्वत्र तरङ्ग पैदा गरेको छ। दुई दिनअगाडि मात्रै अर्थमन्त्री जनार्दन शर्माले विमानस्थल बनाउनकै लागि बजेट छुट्याइएको र निजगढमै विमानस्थल बनाउन जे गर्नुपरे पनि गर्ने बताएपछि आन्दोलन झन् बढ्दै गएको छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.