|

बागलुङ : नेपाल आयल निगमले तेलको मूल्य घटाएपछि बागलुङमा पेट्रोलियम पदार्थ अभाव भएको छ। 

आयल निगमले जेठ १९ गते देखि लागु हुनेगरी १० रुपैयाँ घटाउँदै पेट्रोलको प्रतिलिटर १७० र मट्टितेलको मूल्य १५३ कायम गरेपछि  जिल्लाका पेट्रोल पम्पमा डिजेल तथा पेट्रोल अभाव भएको हो। 

सदरमुकाममा रहेका दुई पेट्रोल पम्प आइतबार दिउँसोदेखि बन्द छन्। इन्धन नभएर पम्प बन्द गरेको सञ्चालक बताउँछन्। आइतबार समेत सार्वजनिक विदा हुन थालेपछि तेलको आपूर्ति आधा मात्रै भएको न्यू ध्रुव पेट्रोल पम्पका सञ्चालक ध्रुव गौतमले बताए। ‘माग गरे अनुसार पेट्रोल नआएर समस्या परेको हो। मूल्य घटेका कारण होइन’,उनले भने, ‘आउँदै नआएपछि पम्प बन्द गर्नुको विकल्प रहेन।'

बागलुङमा अभाव भएपछि डिजेल र पेट्रोल हाल्न सर्वसाधारण छिमेकी जिल्ला पर्वत पुग्न थालेका छन्। उपभोक्ताले कालोबजारी भएको आरोप लगाएका छन्। जिल्लामा मूल्य बढाउने समयसम्म कुनै अभाव नभएको डिजेल तथा पेट्रोल मूल्य घटाएपछि अभाव हुनुले शंका उब्जिएको उनीहरूको भनाइ छ। उनीहरूले पेट्रोल पम्पको अनुगमन गर्न प्रशासनलाई आग्रह गरे। 

बागलुङका सहायक प्रमुख जिल्ला अधिकारी गणेशप्रसाद पौडेलले इन्धन अभावबारे अनुगमन थाल्ने बताए। ‘मूल्य घटेपछि पेट्रोलको अभाव भएको सुनेको छु’, उनले भने, ‘हामी जिल्लाका पेट्रोल पम्पको अनुगमन गर्छौँ। कृत्रिम अभाव सृजना गरेको भए कारबाही गर्छौँ।’

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.