|

काठमाडाैं : नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान (नास्ट)को विज्ञटोलीले सिसडाेलको वातावरण अध्ययन गरेको छ।

काठमाडौंको फोहोर फ्याँकिदै आएको सिसडोल क्षेत्रमा फोहोरबाट उत्पादित लिच्चड मिसिएर भएको प्रदूषण कम गर्न विज्ञ टोली खटिएको हो।

अध्ययन टोलीमा डा. रविन्द्र ढकाल, डा. टिस्टा प्रसाइँ जोसी, डा. सौरभ भट्टराई, अनिता पन्थी र सुनिता श्रेष्ठसहितको विज्ञटिम रहेको छ।

पानीमा लिच्चड मिसिनुभन्दा अगाडि, लिच्चड मिसिएको स्थान र लिच्चड मिसिने स्थानभन्दा ९२० मिटर पर गरी ३ फरकफरक बिन्दुबाट पानीको नमूना संकलन गरेर अध्ययन गरिएको हो।​

सिसडाेलबाट संकलित तीनवटा नमूनाहरुको तुलनात्मक अध्ययन गर्दा पानीमा प्रशस्त मात्रामा लिच्चड मिसिएको देखिएको छ।

स्रोतबाट १ किलोमिटर परसम्मको पानीमा पनि प्रदूषणको मात्रा उच्च देखिएको छ। यसबाट सो स्थानमा जलसम्बद्ध जीवजन्तुमा नकारात्मक असर परेको प्रारम्भिक अध्ययनले देखाएको छ।​

विज्ञ टोलीले यो अवस्थालाई सकेसम्म चाँडो नियन्त्रण गर्न जरुरी रहेको बताएको छ। पानी तथा लिच्चडको पूर्ण रिपोर्ट आगामी केही दिनमा थाहा हुने र पूर्ण रिपोर्ट प्राप्त भएपछि नास्टको टिमले नै त्यसको निरुपणको विधि पनि सुझाव गर्नेछ।

नास्ट लगायत अन्य विज्ञहरुसँग समन्वय गरेर तत्कालै गर्न सकिने, मध्यकालीन र दीर्घकालीन समाधानको बारेमा छलफल र अभ्यास गरिनेछ।

आज नै विज्ञ अमृता पौडेलको नेतृत्वमा गएको टोलीले सिसडोल डाँडा अवलोकन गरेर यो क्षेत्रलाई गन्धरहित बनाउन चाहिने जिवातुको मात्रा र छर्ने विधि निर्क्यौल गरेको छ।

यसका लागि प्रारम्भिक कामहरु ३ दिनभित्र नै सुरु गर्ने गरी तयारी भइरहेको काठमाडौं महानगरका मेयर बालेन शाहले फेसबुक मार्फत जानकारी गराएका छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.