|

काठमाडौं : धादिङ्ग चितवन र कञ्चनपुरमा भएको सवारी दुर्घटनामा ४ जनाको मृत्यु भएको छ। धादिङ्गको गल्छी गाउँपालिका ७ भल्टारमा गएराती जिप र ट्रक आपसमा ठोकिँदा जिप चालकसहित दुई जनाको मृत्यु भएको छ।

 चालक दोलखाका अन्दाजी २५ वर्षीय प्रकाश नेपाली र परिचालक ठेगाना नखुलेका अन्दाजी १८ वर्षीय अनिस बोगटीको मृत्यु भएको प्रहरीले जनाएको छ।  गम्भीर घाइते भएका दुवैको उपचारको क्रममा गल्छि स्थित अम्बेभरोसा अस्पतालमा बुधबार बिहान सवा ३ बजे मृत्यु भएको प्रहरी चौकी गल्छीले जनाएको छ।

चितवनबाट काठमाण्डौ आउँदै गरेको ना ५ च २६८३ नम्बरको जिप ओभरटेक गरेर अगाडी जाने क्रममा विपरीत दिशाबाट आउँदै गरेको ना ७ ख ९७७७ नम्बरको ट्रकसँग ठोकिएको थियो । गएराती पौने ३ बजे भएको सवारी दुर्घटना लगतै सम्पर्कबिहीन भएका ट्रक चालकको खोजी भइरहेको छ।

यसैगरी, चितवनको ईच्छाकामना गाउँपालिका ४ रमाईलो डाँडामा मंगलबार बेलुकी भएको सवारी दुर्घटनामा मोटरसाइकल चालकको मृत्यु भएको छ। गम्भीर घाइते भएका गोर्खाको शहिद लखन गाउँपालिका ४ का अन्दाजी २२ बर्षीय सन्तोष चेपाङको घटनास्थलमै मृत्यु भएका हो। 

कञ्चनपुरको भिमदत्त नगरपालिका १८ मा गएराति दुईओटा साइकल आपसमा ठोकिदा एक जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा साइकल चालक सोही नगरपालिका १५ का २७ वर्षीय सन्तोष चौधरी रहेका छन्। घाइते भएका उनको उपचारका क्रममा महेन्द्रनगर स्थित महाकाली प्रादेशिक अस्पतालमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कञ्जनपुरले जनाएको छ। 

गल्ली नम्बर ३ बाट सिपबिकासतर्फ जाँदै गरेको साइकल र बिपरित दिशाबाट आउँदै गरेको साइकल गएराति साढे ११ बजे आपसमा ठोक्किँएका थिए। अर्का साइकलयात्रीको भने खोजी भइरहेको प्रहरीले जनाएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.