पदयात्रीलाई सहज हुने

|

दाेलखा : दोलखाको विकट उत्तरी क्षेत्र गौरीशङ्कर हिमालको काखैमा रहेको गौरीशङ्कर गाउँपालिका–९ का विभिन्न गाउँमा राष्ट्रिय प्रसारण लाइनको विद्युत् जडान भएको छ।

यसअघि ती पर्यटकीय गाउँमा सोलार बत्ती जडान गरिएका थिए। गौरीशङ्कर गाउँपालिका र नेपाल विद्युत् प्राधिकरणको संयुक्त प्रयासमा च्छोरोल्पा हिमतालको बेसक्याम्प सुर्मुचे, क्याल्चे, डोङाङ्ग र वेदिङ्ग लगायतका क्षेत्रहरुमा विद्युत सेवा विस्तार गरिएको हो।

स्थानीयवासीले विद्युत् सेवाका लागि संरचना निर्माणमा आवश्यक सहयोगसमेत गरेपछि गाउँमा बिजुली बत्ती आएको स्थानीय शिक्षक बोलेन्द्र आचार्यले जानकारी दिए।

विकट उत्तरी उच्च हिमालीक्षेत्र भएका कारण तथा यातायातको सुविधा नभएपश्चात् प्रसारण लाइन जडानका लागि चुनौती रहेको थियाे। लामो समयदेखि प्रयासरत रहँदा गाउँमा बिजुली पुगेको जनाइएको छ। अहिले सो क्षेत्रका स्थानीयवासी हर्षित भएका छन्।

गाउँमा बिजुली बल्न सुरु भएपछि च्छोरोल्पा जाने पर्यटकहरुका लागि सबैभन्दा बढी सहज भएको छ। एक हप्तासम्मको यात्रामा च्छोरोल्पा जाने पर्यटकलाई मोबाइल, टर्च र क्यामेराको ब्याट्री लगायतका विद्युतीय उपकरणहरु चार्जका लागि बिजुली आवश्यक हुन्छ।

वर्षमा हजाराैँ पर्यटकहरु पैदल मार्ग हुँदै हप्तादिनको यात्रामा च्छोरोल्पा जाने गर्दछन्। बाटोमा खाना बस्नको राम्रो व्यवस्थापन र पैदल मार्गका लागि छ्याेतदेखि हिमतालसम्मै पुग्ने बाटो राम्रो तरिकाले निर्माण गरिएकाे छ।

बाटाे निर्माण भएपछि पर्यटकहरु थप वृद्धि भएको स्थानीयवासी छिरिङ शेर्पाले बताए। बाटोमा बस्दै रमाइलो गर्दै जाने पर्यटकहरुका लागि विद्युत् सेवा विस्तार भएपछि थप सहयोग पुग्ने स्थानीयवासीको अपेक्षा रहेको छ।

च्छोरोल्पा हिमतालमा पैदल यात्रामार्फत जान नसक्ने कतिपय पर्यटकहरु हवाइमार्फत पनि उक्त क्षेत्रमा भ्रमणमा जाने गरेको पाइन्छ। गाैरीशङ्कर संरक्षण क्षेत्रभित्र पर्ने यस हिमतालमा जाने पर्यटकहरुलाई सहज गराउनका लागि संरक्षण क्षेत्रले समेत विभिन्न कार्यक्रमहरु सञ्चालन गर्दै आइरहेको छ।

गौरीशङ्कर गाउँपालिका–९ का ठाङ्दिङ्ग, उत्तिसे र केताङ्गमा अझै विद्युतीकरणको कार्य बाँकी रहेको छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.