|

काठमाडौं : बेलायतमा नेपाली नर्सलाई रोजगारी दिने सम्बन्धमा नेपाल र बेलायतबीच आगामी साता श्रम समझदारी हुने भएको छ। श्रम समझदारीको मस्यौदा बनाउन गठित दुवै देशका प्रतिनिधि सम्मिलित समितिले अन्तिम मस्यौदा तयार गरेकोले आगामी साता हस्ताक्षर गर्न लागिएको हो।

श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठसँग नेपालका लागि बेलायती राजदूत निकोला पोलिटले शुक्रबार भेट गरी श्रम समझदारीबारे छलफल गरेकी थिइन्। मन्त्रालयमा भएको भेटवार्तामा  नेपाल-बेलायतबीच सन् १८१६ मा कूटनीतिक सम्बन्ध स्थापित भएदेखि रहँदै आएको सम्बन्ध र आपसी हितका विविध विषयमा छलफल भएको थियो।

नेपाल र बेलायतबीच हुने श्रम समझदारीपत्रको तयारीका लागि दुवै देशका सहभागी प्रतिनिधिको संयुक्त प्रयासबाट सुरक्षा क्षेत्रभन्दा बाहिर पहिलोपटक   रोजगारीको अवसर पाउन लागेका हुन्। बेलायतमा शुरुमा २ हजार नर्स पठाउन तयार रहेको मन्त्री श्रेष्ठले बताए। त्यसका लागि वैदेशिक रोजगार विभागको क्षमता अभिवृद्धि, छात्रवृत्तिको अवसरका साथै नर्सिङ कलेजको क्षमता अभिवृद्धिमा बेलायतबाट सहयोगको अपेक्षा गरिएको बताए।

मन्त्री श्रेष्ठले गण्डकी प्रदेशको तनहुँ जिल्लामा कम्तिमा १ सय बेडको नर्सिङ कलेज सहितको अस्पताल निर्माण गर्ने आफ्नो योजना रहेको बताउँदै बेलायतबाट सहयोगको अपेक्षा गरेका थिए। उनले नर्सबाहेक डाक्टर, फार्मेसिष्ट, ल्याब टेक्निसियनलाई पनि बेलायतमा रोजगारी प्राप्त हुने विश्वास व्यक्त गरे। मन्त्री श्रेष्ठ र राजदूत पोलिटबीच नेपाली श्रमिकहरूलाई बेलायतमा रोजगारीका लागि निर्माण, ड्राइभिङ, कृषि, होटल व्यवसाय जस्ता अन्य क्षेत्रमा पठाउन सकिने सम्भावनाबारे पनि छलफल भएको थियो। 

रोजगारीका लागि बेलायत जाने नर्सले कुनै पनि शुल्क बुझाउनु नपर्ने मन्त्री श्रेष्ठले बताए। वैदेशिक रोजगारीलाई विविधीकरण गर्ने क्रममा आफूले आकर्षक गन्तव्यको खोजी गरिरहेको उनको भनाइ छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.