|

काठमाडौं : पछिल्लो दुई महिनामा प्राकृतिक विपदका घटनामा ६० जनाले ज्यान गुमाएका छन्। राष्ट्रिय विपद जोखिम न्यूनीकरण प्राधिकरणका अनुसार २०७९ वैशाख १ देखि यही जेठ २७ गतेसम्म प्राकृतिक विपदमा ६० जनाको मृत्यु भएको हो भने १४८ जना घाइते भएका छन्।

उक्त अवधिमा सबैभन्दा बढी चट्याङ लागेर २६ जनाको मृत्यु भएको छ। आगलागीमा १४, जनावर आक्रमणबाट ८ जना, हावाहुरीले ७ जना, पहिरोमा ३ जना र सर्पदंशबाट २ जनाको मृत्यु भएको हो।

बाढी पहिरो, वर्षा, चट्याङ, आगलागी हावाहुरी, जनावर आतंकबाट ४८ करोड ८३ लाख ९८ हजार ६० रूपैयाँ बराबरको अनुमानित क्षति भएको प्राधिकरणले जनाएको छ।

हिजो एकै दिन चट्याङ लागेर ३ जनाको मृत्यु

हिजो चट्याङ लागेर ३ जनाको मृत्यु भएको छ। राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार सप्तरीमा २ र बाग्लुङका १ जनाको चट्याङ लागेर मृत्यु भएको हो। सप्तरीको बोदेवरसाईन नगरपालिका-३ मधुवन टोलका ६५ वर्षीय सत्यनारायण यादव र ६० वर्षका रामजी यादवको मृत्यु भएको हो।

बोदेबरसाईनस्थित बियुल खोलामा गाई चराउन गएको समयमा बिहीबार दिउँसो चट्याङ लागेर दुवै जनाको मृत्यु भएको सप्तरीका प्रहरी नायव उपरीक्षक माधवप्रसाद काफ्लेले जानकारी दिए। बाग्लुङको बडीगाड गाउँपालिका-३ सिसाखानीका ७० वर्षीय एक पुरुषलाई पनि घरमै बसिरहेको अवस्थामा चट्याङ लागेर मृत्यु भएको हो।  चट्याङकै कारण मोरङका २ जना घाइते भएका छन्। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.