‘सरकारको नीतिगत त्रुटीले बालबालिकाको भविष्य अन्योलमा’

|

काठमाडौं : वर्षेनी नयाँ शैक्षिक सत्र शुरु भएपछि वैशाख र जेठमा नयाँ पाठ्यपुस्तकको चर्चा हुन्छ। विभिन्न सञ्चारमाध्यममा नयाँ पुस्तक छाप्न ढिलो भएको समाचारले गतिलो स्थान पाउँछ। सरकारलाई छिटो सक्न दबाब दिइन्छ। तर न यो समस्या सरकारले अहिलेसम्म अन्त्य गर्न सकेको छ न नयाँ विकल्प नै निकाल्न सकेको छ।

यो समस्या वर्षेनी दोहोरिइरहन्छ। यस वर्षको शैक्षिक सत्र शुरु भएको २९ दिन भइसक्यो। शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले २०७९ को शैक्षिक सत्र (पठनपाठन) यही जेठ १ गते नै थाल्ने निर्णय यसअघि गरिसकेको थियो। तर हालसम्म नयाँ पाठ्यपुस्तक छपाइ सकिएको छैन।

सरकारी स्वामित्वको जनक शिक्षा सामग्री केन्द्र लिमिटेडका अनुसार करिब १ करोड ९० लाख थान नयाँ पुस्तक छाप्नुपर्नेमा अझै १५ लाख थान छाप्न बाँकी छ। केन्द्रका सूचना अधिकारी चित्रकुमार आचार्यले बाँकी १५ लाख थान पुस्तक छाप्न अझै १५ दिन लाग्ने बताए। 

उनका अनुसार दिनको १ लाख २५ हजारसम्म पुस्तक छाप्न सकिन्छ। कागज अभाव र स्थानीय तह निर्वाचनको लागि मतपत्र छपाइले पुस्तक छपाइमा ढिला भएको तर्क उनले गरे।

छापिएका पुस्तक पुगेनन् विकट जिल्लामा 

जनक शिक्षाले छापिसकेको पुस्तक सम्बन्धित ठाउँमा पुर्‍याएकाे दाबी गरिरहे पनि विकट जिल्लामा अझै पुग्न सकेको छैन। विद्यार्थीको हातमा नयाँ पाठ्यपुस्तक पुग्न सकेको छैन। यसबाट पठनपाठन प्रभावित भएको छ।

हुम्ला जिल्लाको चंखेली गाउँपालिकाकी उपाध्यक्ष प्रेमकला शाहीले गाउँपालिकामा अझै नयाँ पुस्तक नआइपुगेको जानकारी दिइन्। उनले थाहाखबरसँग भनिन्, ‘नयाँ पुस्तक अझै हामीकहाँ आइपुगेको छैन, व्यवस्था गर्न पहल गरिरहेका छौँ, बुझ्दै छौँ।’

जुम्ला जिल्लाको तातोपानी गाउँपालिकाका अध्यक्ष नन्दप्रसाद चौँलागाईंले पनि अझै पुस्तक नआइपुगेको जानकारी दिए। ‘नयाँ पुस्तक आइपुगेको भन्ने जानकारी छैन, अब बुझेर व्यवस्था गर्नेतिर लाग्छौँ,’ उनले भने।

मुगु जिल्लाको मुगुम कार्मारोङ गाउँपालिका अध्यक्ष छिरिङ क्याप्ने लामाले पनि सबै ठाउँमा नयाँ पुस्तक नपुगेको जानकारी दिए। पठनपाठन प्रभावित भएको भन्दै व्यवस्थापन गर्ने उपाय खोजिरहेको उनको भनाइ छ।

‘सरकारको नीतिगत त्रुटीले बालबालिकाको भविष्य अन्योलमा’

नेपाल अभिभावक महासंघका अध्यक्ष सुप्रभात भण्डारीले सरकारको नीतिगत त्रुटीका कारण बालबालिकाको भविष्य अन्योलमा परेको बताउँछन्। यस्ता समस्या करिब डेढ दशकदेखि नै देखिएको र कहिल्यै पनि समयमा सबै विद्यार्थीले शैक्षिक सत्रको शुरुवातमै पुस्तक नपाएको उनले बताए। 

उनले भने, ‘चुनाव हुने र मतपत्र छाप्ने भएपछि जनक शिक्षाले अगाडि नै पुस्तक छाप्नु पर्थ्यो, तर यसतर्फ सरकारको नजर पुगेन। अहिले पढ्ने पुस्तक नहुँदा समस्या भयो।’ पुस्तक छपाइमा ढिला नगर्न बारम्बार सरकारलाई दबाब दिइरहेको उनको भनाइ छ। 

शिक्षामन्त्रीको निर्देशन, निर्देशनमै सीमित

शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले पुस्तक छपाइमा ढिला भएपछि जेठ १५ गते जनक शिक्षामै अनुगमन गरेर दुई साताभित्र बाँकी नयाँ पाठ्यपुस्तक छापेर विद्यार्थीको हातमा पुर्‍याउन जनक शिक्षालाई निर्देशन दिएका थिए। त्यसवेला उनले भनेका थिए, ‘दुई सातामा पुस्तक सबै ठाउँमा पुर्‍याउनु, ढिला गर्न पाइँदैन।’

तर यो निर्देशन केवल निर्देशनमै सीमित बनेको छ। जेठ ११ गते प्रतिनिधिसभा अन्तर्गतको शिक्षा तथा स्वास्थ्य समितिको बैठकमा शिक्षा तथा स्वास्थ्य समितिकी सभापति जयपुरी घर्तीले छापिएका पाठ्यपुस्तक तुरुन्तै विद्यार्थीको हातहातमा पुर्‍याउन सरकार र जनक शिक्षालाई निर्देशन दिएकी दिइन्।  

बाटो बिग्रिएकाले पुस्तक नपुगेको हुनसक्छ : जनक शिक्षा

जनक शिक्षाका सूचना अधिकारी आचार्यले वर्षातको सिजन भएकाले बाटो बिग्रिँदा समयमा पुस्तक नपुगेको हुनसक्ने बताए। ‘हामीले यहाँबाट छपाइ सकिएपछि नियमित नै पठाउँछौँ,’ उनले भने। जनक शिक्षाको धनगढी, नेपालगन्जलगायत ९ ठाउँमा प्रादेशिक कार्यालयमा पठाइ वितरण गरिरहेको उनको भनाइ छ।

बाँकी पुस्तक छिटै सक्नै र तत्काल पठाउने उनले जानकारी दिए। कक्षा १ देखि १२ सम्मको नयाँ पुस्तक छापिन्छ। कक्षा १ देखि ९ सम्म रंगीन पाठ्यपुस्तक छापिएको छ भने कक्षा १० देखि १२ सम्मको कालो र सेतो (ब्ल्याक एण्ड ह्वाइट) पुस्तक छापिँदै आएको उनले बताए। 

(यो पनि)

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.