|

विराटनगर : सात प्रदेशमध्ये ६ वटा प्रदेशले राजधानी र प्रदेशको नाम पाइसक्दा राजधानी मात्र पाएर अझै नाम नपाएको प्रदेश १ को नामकरणका लागि सत्तारुढ दल नेपाली काँग्रेस र प्रमुख प्रतिपक्षी दल एमाले सहमत भएका छन्। आज (आइतबार ) प्रदेश १ प्रदेशसभा बैठकपछि एमालेका सांसद हिक्मतकुमार कार्की र नेपाली काँग्रेसका संसदीय दलका नेता राजीव कोइरालाबीच छलफल भएको थियो।

छलफलका क्रममा उनीहरू जारी बजेट अधिवेशनबाट नामको टुङ्गो लगाउन सहमत भएका हुन्। एमाले सांसद कार्कीले जारी अधिवेशनबाट नाम टुङ्गो लगाउने सहमति भएको जानकारी दिए। संसद बैठकमा विशेष समय लिएर बोल्दै कार्कीले सबैतिर बेनामे प्रदेश भनिएको र यसले मन मस्तिष्कमा छोएकाले आफूहरू नाम टुङ्गो लगाउने क्रममा पहलकदमी र सहजीकरण गर्ने विषयमा तयार रहेको बताएका थिए।

नेकपा एमालेले कार्कीकै नेतृत्वमा नामका लागि सहजीकरण गर्न ५ सदस्यीय समिति गठन गरेको छ। एमालेले गठन गरेको  कार्यदलमा पूर्वमन्त्री कार्कीसहित पूर्वमन्त्री जीवन घिमिरे, जगदीश कुसियैत, उषाकला राई तथा सांसद अर्जुन राई रहेका छन्।

नेकपा एमाले संसदीय दलको बिहीबार बसेको बैठकले नामको विषय टुंगो लाउन सहजीकरण गर्न समिति गठन गरेको थियो। नामको विषयमा सहजीकरणका लागि सत्ता पक्षले पनि स्वास्थ्यमन्त्री जयराम यादवको नेतृत्वमा समिति गठन गरेको थियो।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.