|

काठमाडाैं : अमेरिकी सेनाका एसिया–प्रशान्त क्षेत्र प्रमुख चार्ल्स ए फ्लिनले नेपाली सेना एक भरपर्दो जमिनी शक्ति भएको बताएका छन्।

चारदिने औपचारिक भ्रमणका क्रममा फ्लिनले आज शिवपुरीस्थित सैनिक कमान्ड तथा स्टाफ कलेज भ्रमण पश्चात् आयोजित समारोहमा यस्तो बताएका हुन्। उनले नेपाली सेना संसारकै पुरानो सेनामध्ये एक रहेको समेत बताएकाे सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ।

उक्त भ्रमणका क्रममा उनले कलेजका शिक्षाध्यक्षसँग भेटघाट तथा तालिमरत शिक्षार्थी अधिकृतसँग अन्तरक्रिया गर्नुका साथै वृक्षारोपण पनि गरेका छन्। फ्लिन नेतृत्वको टोलीले आजै काभ्रेको पाँचखालस्थित नेपाली सेनाको वीरेन्द्र शान्ति कार्य तालिम केन्द्रको समेत भ्रमण गरेको थियो। सो क्रममा शान्ति कार्य तालिम केन्द्रका केन्द्रपतिबाट उक्त भ्रमणदललाई वस्तुस्थितिलगायत विविध पक्षबारेमा जानकारी गराइएको थियो।

उक्त भ्रमणदलले शान्ति स्थापना कार्यको दौरानमा आवश्यक पर्ने विभिन्न प्रदर्शनीको अवलोकनसमेत गरेको थियो। भ्रमणका क्रममा नेपाली सेनाका रथी तथा अधिकृत र उक्त भ्रमण दलका सदस्यहरूबीच संयुक्त राज्य अमेरिकाबाट शान्ति स्थापना कार्यका लागि प्राप्त सहयोग भविष्यमा थप वृद्धि गर्दै लैजानेलगायत विषयमा छलफल भएको जनाइएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.